लेकसाइडमा बस पार्किङमा रोक, वैकल्पिक स्थान तोकियो

पर्यटकीय नगरी पोखराको मुख्य गन्तव्य लेकसाइड क्षेत्रमा बढ्दो सवारी चाप र पर्यटकलाई परेको सास्ती कम गर्न मुख्य सडकमा बस पार्किङ गर्न रोक लगाइएको छ।

सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामले शनिबार आयोजना गरेको सरोकारवालाबीचको छलफलले सडकको अस्तव्यस्तता हटाउन यस्तो निर्णय गरेको हो।

छलफलपछि पहिलो चरणमा लेकसाइडको सडकमा बस पार्किङ निषेध गरिएको छ। अबदेखि ठूला सवारी साधनले पोखराको पर्यटन बसपार्क, बाराही घाट र क्याम्पिङचोकमा मात्र पार्किङ गर्नुपर्नेछ।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालले भ्रमणमा आउने तथा भारतीय नम्बर प्लेटका बसहरू सडकमै पार्किङ गरिँदा लेकसाइड अस्तव्यस्त बनेको बताए। उनले सडक सुरक्षा र दीर्घकालीन समाधानका लागि विशेष कार्यदल बनाएर अघि बढ्ने जानकारी दिए।

पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले सडक छेउको पार्किङले जाम बढाएको भन्दै यसलाई व्यवस्थित गर्न लागिएको बताए। उनले सडक किनारको पार्किङलाई चरणबद्ध रूपमा हटाउँदै वैकल्पिक स्थान पहिचान गर्नुपर्नेमा जोड दिए।

वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवराज भट्टराईले अव्यवस्थित पार्किङका कारण दुर्घटना बढेको र सवारी आवागमनमा बाधा पुगेको बताए। उनले सडकमा ट्राफिक सङ्केत बोर्डहरू राख्न आवश्यक रहेको औंल्याए।

छलफलमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सुजितकुमार देवकोटाले लेकसाइडको ट्राफिक सुधारका लागि हल्लनचोकदेखि बाराहीचोकसम्मको क्षेत्रलाई एकतर्फी बनाउन प्रस्ताव गरे। उनले ठूला सवारीलाई पर्यटक ओराल्न र चढाउन मात्र अनुमति दिनुपर्ने तथा मालसामान ढुवानी गर्ने सवारीका लागि निश्चित समय तोक्नुपर्ने सुझाव दिए।

पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले अव्यवस्थित पार्किङका कारण पर्यटकले सास्ती खेप्नुपरेको भन्दै व्यवसायीले पनि आफ्ना ग्राहकका लागि पार्किङको व्यवस्था गर्नुपर्ने विचार राखे।

Exit mobile version