पोखरा । नेपाल ह्याण्डबल संघको केन्द्रीय अध्यक्षमा पिताम्बर तिमिल्सिना निर्वाचित भएका छन् ।
पोखरामा बिहीबार भएको केन्द्रीय महाधिवेशनबाट आगामी ४ वर्षका लागि तिमिल्सिनाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।
उपाध्यक्षहरुमा मिठाराम अधिकारी, हिमालकुमार श्रेष्ठ र ज्ञानेन्द्र प्रधान निर्वाचित भए । महासचिवमा केशव पाठक निर्विरोध निर्वाचित भए ।
यसैगरी, सचिवमा महेन्द्रबहादुर पुन, कोषाध्यक्षमा तस्बिरा तामाङ, सदस्यमा नारायण अधिकारी, सविता थोकर तामाङ, तेजेन्द्रबहादुर पाण्डे, मेदनीलाल पाण्डे र विशाल बस्नेत सर्वसम्मत् भए । रिक्त पदाधिकारी तथा सदस्यको पछि मनोनीत हुने व्यवस्था रहेको निर्वाचन समिति संयोजक कमल अर्यालले जानकारी दिए ।
संघमा देशभरिबाट बागमती बाहेक ६ प्रदेशका ४८ जिल्लाका प्रतिनिधिले भाग लिएको नवनिर्वाचित महासचिव पाठकले जानकारी दिए ।
पोखराका तेजबहादुर गुरुङ नेतृत्वको कार्यकाल लामो समय अघि सकिए पनि विविध कारणले महाधिवेशन हुन सकेको थिएन । प्रदेश खेलकुद परिषद् गण्डकीका संस्थापक सदस्य–सचिव समेत रहेका गुरुङले यसअघि दुई कार्यकालसम्म संघको नेतृत्व गरे ।
प्रमुख अतिथि गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले महाधिवेशनको उद्घाटन गर्दै पोखरा पर्यटनको मात्र नभई खेलकुदको पनि राजधानी भएको बताएका थिए । उनले प्रदेश सरकारले खेलकुदलाई पनि निकै महत्वका साथ अगाडि बढाएको उल्लेख गर्दै यसप्रकारका महाधिवेशनबाट आन्तरिक पर्यटनमा पनि टेवा मिल्ने बताए ।
अन्तरिम केन्द्रीय समिति अध्यक्ष तेजबहादुर गुरुङको अध्यक्षतामा भएको महाधिवेशन उद्घाटन सत्रमा अन्तर्राष्ट्रिय ह्याण्डबल संघका प्रतिनिधि मोहम्मद शफिक, राष्ट्रिय खेलकुद परिषद्का सदस्य हिमाल कुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
