नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनका लागि पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियुका अधिकांश पूर्वपदाधिकारीहरू प्रतिनिधि (डेलिगेट्स) चयन भएका छन्।
संगठनका पूर्वअध्यक्ष समिककुमार बडालदेखि महासचिव नरेश रोकायासम्मका नेताहरू विभिन्न भूगोल र क्लस्टरबाट महाधिवेशन प्रतिनिधि चुनिएका हुन्।
पूर्वअध्यक्ष बडाल युवा विद्यार्थी विशेष जिल्ला कमिटीबाट प्रतिनिधि चयन भएका छन्। सोही कमिटीबाट पूर्वउपाध्यक्ष धर्म गिरी पनि प्रतिनिधि छानिएका छन्।
महासचिव नरेश रोकाया बाजुराबाट युवा क्लस्टर अन्तर्गत महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् भने उपाध्यक्ष गोविन्द गिरी बैतडी जिल्लाको युवा क्लस्टरबाट सर्वसम्मत प्रतिनिधि बनेका छन्।
यस्तै, पूर्वउपाध्यक्ष नारायण घर्ती जाजरकोटबाट खुलातर्फबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर आएका छन्।
भोलेन्टियर फोर्स र अन्य क्लस्टरबाट पनि सहभागिता
एमालेको २४औं जनसंगठनका रूपमा मान्यता पाएको ‘भोलेन्टियर फोर्स’ (स्वयम्सेवी संगठन) बाट पनि विद्यार्थी नेताहरू सर्वसम्मत छानिएका छन्। संगठनकी महिला सहकमाण्डर समेत रहेकी पूर्वसचिव विनिता काफ्ले र पूर्वसचिव सञ्जीव धिताल यसै क्लस्टरबाट प्रतिनिधि बनेका हुन्।
अनेरास्ववियुको गत महाधिवेशनमा झिनो मतले पराजित प्रकाश पौडेल म्याग्दीबाट युवातर्फ प्रतिनिधि चुनिएका छन्। त्यस्तै, कास्की–२ बाट विजय पौडेल र पाल्पाबाट जिल्ला अध्यक्ष समेत रहेका २४ वर्षीय सन्देश ढकाल प्रतिनिधि बनेका छन्।
यसबाहेक सप्तरीबाट ललित रजक र रामजी साह, सुनसरीबाट नवराज खड्का, रुकुम पश्चिमबाट प्रकाश खड्का र सिन्धुलीबाट एलबी बुढाथोकी पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन्। उनीहरू सबै अखिलको पृष्ठभूमि भएका नेताहरू हुन्।
सुमन पुरी पराजित
अधिकांश विद्यार्थी नेताहरूले महाधिवेशनको यात्रा तय गर्दा राष्ट्रिय युवा संघ नेपालका अध्यक्षका प्रत्यासी सुमन पुरी भने प्रतिनिधि बन्न असफल भएका छन्। उनलाई अनेरास्ववियुकै पूर्वनेता बालकृष्ण पाण्डेले पराजित गरेका हुन्।
