नजिकिँदै चुनाव : समानुपातिकतर्फको कार्यक्रम सुरु, मंसिर २१ देखि दल दर्ता

santan ads

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको औपचारिक प्रक्रिया सुरु भएको छ।

निर्वाचन आयोगले आइतबार कान्तिपथस्थित केन्द्रीय कार्यालयमा ‘निर्वाचन अधिकृतको कार्यालय’ स्थापना गरेसँगै चुनावी कार्यक्रम अघि बढेको हो।

आयोगद्वारा स्वीकृत कार्यतालिका अनुसार यही मंसिर २० गतेदेखि समानुपातिकतर्फको निर्वाचन कार्यक्रम सञ्चालनमा आएको छ।

आयोगका अनुसार समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूले मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म निवेदन पेस गर्नुपर्नेछ। निवेदन दिएका दलहरूको नामावली मंसिर २४ गते प्रकाशित गरिनेछ।

यस्तै, राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची आगामी पुस १३ र १४ गते पेस गर्नुपर्ने कार्यतालिका छ। आयोगले जाँचबुझपछि माघ २० गते उम्मेदवारको अन्तिम बन्दसूची प्रकाशन गर्ने जनाएको छ।

समानुपातिकको प्रक्रिया अघि बढ्दा प्रत्यक्षतर्फ (पहिलो हुने निर्वाचित हुने प्रणाली) को कार्यतालिका पनि सार्वजनिक भएको छ। जसअनुसार माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखिएको छ।

प्रतिनिधिसभामा कुल २७५ सदस्य रहने संवैधानिक व्यवस्था छ। जसमध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट र बाँकी ११० जना समानुपातिक प्रतिनिधित्व प्रणालीमार्फत चयन हुनेछन्।

समानुपातिक निर्वाचन प्रणालीको व्यवस्थापनका लागि आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृत र सहसचिव यज्ञप्रसाद भट्टराईलाई सहायक निर्वाचन अधिकृत तोकिएको छ।

यो प्रक्रिया सम्पन्न गर्न कार्यालयमा ४१ जना कर्मचारी खटाइएको आयोगले जानकारी दिएको छ।

Scroll to Top