जेन-जी घाइतेको वर्गीकरण सुरु, परिचयपत्र लिएर आउन आग्रह

जिल्ला प्रशासन कार्यालय कास्कीले ‘जेन-जी’ प्रदर्शनका क्रममा भएका घाइतेहरुको वर्गीकरण सुरु भएको छ ।

उपचारपछि पनि पूर्णरुपमा निको नभएका व्यक्तिहरुलाई वर्गीकरण गर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय, कास्कीले परिचयपत्रसहित आउन आग्रह गरेको हो ।

गृह मन्त्रालयको पत्र तथा ‘जेन-जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण सम्बन्धी कार्यविधि २०८२’ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित वर्गीकरण सहजीकरण समितिले घाइतेहरुलाई तोकिएको समय र स्थानमा उपस्थित हुन भनेको हो ।

गृह मन्त्रालयको पत्रअनुसार २०८२ भदौ २३ र २४ गतेको ‘जेन-जी’ प्रदर्शनका क्रममा घाइते भएका व्यक्तिहरुको वर्गीकरण गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहेको प्राविधिक समितिसमक्ष विवरण पठाउन लागिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले बताए ।

उनका अनुसार अनुसार प्रदर्शनका क्रममा घाइते भई प्रशासनबाट ‘जेन-जी’ घाइते परिचयपत्र लिइसकेका तर उपचारपछि पनि पूर्ण रुपमा निको नभई हालसम्म घाइते अवस्थामै रहेका व्यक्तिहरु पहिलो चरणको वर्गीकरणमा पर्नेछन् ।

यस्ता व्यक्तिहरुले आफ्नो घाइते परिचयपत्र र आफूले उपचार गरेको विवरण तथा कागजातसहित उपस्थित हुनुपर्ने छ ।

घाइतेहरुको वर्गीकरणका लागि आगामी २०८२ मंसिर ७ गते आइतबारको समय तोकिएको छ ।

घाइतेहरु पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, रामघाट पोखरास्थित ‘जेनजी’ क्लिनिक कोठा नं ०६, ओपिडी भवनमा उपस्थित हुनुपर्नेछ ।

उपस्थितिको समय दिनको १० बजेदेखि १ बजेसम्म निर्धारण गरिएको छ ।

Exit mobile version