हाल नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले त्रिवि क्रिकेट स्टेडियममा फ्लडलाइट र स्कोरबोर्ड जडान गर्न निर्देशन दिएको बताएका छन् ।
आजदेखि जारी नेपाल प्रिमियम लीग (एनपीएल)को दोस्रो संस्करण सुरुवातको शुभकामना दिँदै प्रचण्डले ०७९ सालको चैतमै आफुले लाइट जडान गर्न दिएको निर्देशन स्मरण गरेका छन् ।
स्टेडियममा जडान गरिएको लाइटको जस लिने होड चलिरहेकाबेला प्रचण्डले पनि सामाजिक सञ्जालमार्फत उक्त अभिव्यक्ति दिएका हुन् ।
प्रचण्डले लेखेका छन्ः
नेपालको स्वाभिमान र पहिचानको प्रतीक बन्न सफल नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता—नेपाल प्रिमियर लिग ९ल्एी० को दोश्रो संस्करण आजबाट सुरू हुँदैछ। यस सुखद अवसरमा प्रतियोगितामा सहभागी सबै टिम, नेपाल क्रिकेट संघका पदाधिकारी, व्यवस्थापक तथा विश्वभर रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।
आज शुभकामना दिइरहँदा मलाई २०७९ चैत २ गतेको कीर्तिपुरस्थित खेल मैदान झल्झली सम्झनामा आइरहेछ । त्यो दिन युएईविरुद्ध आईसीसी विश्वकप लिग–टुको अन्तिम खेलमा हामीले ऐतिहासिक जीत हासिल गरेका थियौँ। तर जीतको खुसीसँगै खेलमैदानको दुरावस्थाविरुद्ध दर्शकहरूको आक्रोश पनि उस्तै थियो ।
त्यस दिन खेल हेरेर फर्कँदा मनमा मिश्रित भावना थियो। भोलिपल्टै, बालुवाटारमा विजेता खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ पुरस्कार हस्तान्तरण गर्दै मैले कीर्तिपुर क्रिकेट मैदानमा तत्काल आधुनिक फ्लडलाइट र स्कोरबोर्ड जडान गर्ने निर्देशन राष्ट्रिय खेलकुद परिषद्लाई दिएको थिएँ। सोही अनुसार वार्षिक बजेट विनियोजन भएर काम सुरु भयो। तर कानुनी, प्राविधिक र प्रशासनिक अनेक कारणले निर्माणको काम समयमै पूरा हुन सकेन।
अघिल्लो सरकारले सोही कार्यलाई निरन्तरता दियो । सरकारबाट बाहिरिएपछि प्रतिपक्षी दलको नेताकै हैसियतमा समेत मैले संसदबाट यस विषयमा निरन्तर खबरदारी गर्दै आएँ ।
अन्ततः आज एनपीएलको दोश्रो संस्करण हामीले फ्लडलाइट जडित स्टेडियममा हेर्ने गौरव प्राप्त गरेका छौं । यसका लागि नेपाल सरकार, राखेप, क्यान, खेलाडी, क्रिकेटप्रेमी दर्शक लगायत सबैको सकारात्मक पहल प्रशंसनीय छ।
क्रिकेटले विश्व समुदायमा नेपालको स्वाभिमान उँचो बनाएको छ। यो संस्करणले नेपाली क्रिकेटको विकास, विस्तार र पेशागत उचाइमा नयाँ ऊर्जा थपोस् भन्ने हार्दिक कामना गर्दछु। साथै, राष्ट्रिय गौरवका रूपमा घोषणा भएका अन्य रंगशालाहरू पनि सरकारले यथाशीघ्र निर्माण कार्य अघि बढाओस् भन्ने आग्रह गर्दछु।
हार्दिक शुभकामना !
