
आज विश्व मधुमेह दिवस । हरेक वर्ष नोभेम्बर १४ मा विश्वभर मनाइने यो दिवस नेपालमा जीवनको हरेक चरणमा मधुमेह भन्ने नाराका साथ विभिन्न सचेतनामूलक कार्यक्रमहरुको आयोजना गरी मनाईँदैछ ।
यस दिवसले मधुमेह अझैपनि प्रमुख जनस्वास्थ्य चुनौतीको रूपमा रहेको सहज परीक्षण, उपचार र सहयोगी वातावरणको आवश्यकताको स्मरण गराएको छ ।
बालबालिकादेखि गर्भवती महिला र जेष्ठ नागरिकसम्म — सबैका लागि उमेरअनुसारको रोकथाम, समयमै मधुमेहको पहिचान र नियमित उपचार अनिवार्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मूलतः नियमित शारीरिक गतिविधि, स्वस्थ आहार, धूम्रपान र मदिराबाट टाढा रहने जस्ता सरल जीवनशैली परिवर्तनले प्रकार–२ मधुमेहको जोखिम घटाउन मद्दत गर्छ।
विश्व मधुमेह दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयले सबै सरकारी तथा गैरसरकारी निकाय, स्वास्थ्यकर्मी, साझेदार संस्था र समुदायलाई मधुमेहको बोझ कम गर्न अझ सशक्त रूपमा एकजुट हुन आह्वान गरेको छ ।
‘मधुमेह जुनसुकै उमेर समुहलाई हुन सक्छ । तर स्वस्थ जीवन शैली, नियमित रगत परीक्षण तथा निगरानी र औषधी उपचारले यसको जोखिम कम गर्न सकिन्छ’ मन्त्रालयले भनेको छ ।







