पोखराको नयाँबजारस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले निक्षेपकर्ताहरूको बचत रकम फिर्ता नगरी ठगी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान सुरु गरेको छ।
प्रहरीले पीडित बचतकर्ताहरूलाई आधिकारिक उजुरी दर्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले आज एक सूचना जारी गर्दै भनेको छ कि गण्डकी प्रदेश रजिस्ट्रारको कार्यालय, पोखराको पत्र साथै कागजातहरूको आधारमा मिति २०८१ असोज १९ गतेदेखि नै उक्त सहकारी संस्थाका केही जिम्मेवार पदाधिकारी तथा कर्मचारी नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
प्रहरीले सहकारीका अध्यक्ष सुरेन्द्र गोदारसहित ८ जनालाई बुधबार नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
प्रहरीको सूचना अनुसार, सहकारी ऐन, २०७४ बमोजिम अनुसन्धान गर्न दिनु भनी रजिस्ट्रारको कार्यालयले पत्राचार गरेपछि प्रहरीले यस विषयमा सक्रियता देखाएको हो।
सहकारी संस्थाले बचत तथा सेयर रकम फिर्ता नगर्दा पीडित बनेका व्यक्तिहरूलाई प्रहरी कार्यालयमा उजुरी दिन आह्वान गरिएको छ।
बचतकर्ताहरूले आफूले जम्मा गरेको रकमको प्रमाण (धनधनी पत्र, पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाण पत्र, लगायतका प्रमाण) र सम्बन्धित पीडित बचतकर्ताको नागरिकता समेतका परिचय खुल्ने कागजात सहित कानून बमोजिम प्रहरीमा जाहेरी दरखास्त दिन सक्नेछन्।
प्रहरी कार्यालयले सम्पूर्ण बचतकर्ताहरूलाई मिति २०८१ असोज २८ गतेभित्र अनिवार्य रूपमा उजुरी दर्ता गर्न अनुरोध गरेको छ।
यसका साथै, सहकारीबाट ऋण उपभोग गर्ने ऋणीहरूलाई समेत मुद्राको प्रतिवादी बनाइने भएकाले जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखाको सम्पर्कमा आई आफूले भुक्तान गर्नुपर्ने रकम सम्बन्धमा छानबिन प्रतिवेदनबाट जानकारी लिई आफ्नो व्यवहार यथाशक्य न्यायसम्मत गर्न अनुरोध गरिएको छ।
