पोखरा सहकारीको ८८ करोड ठगी, अध्यक्ष गोदारसहित ७ पक्राउ

पोखरामा सहकारी ठगीको पछिल्लो प्रकरणमा पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित ७ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। उनीहरूमाथि करिब ८८ करोड रुपैयाँ ठगी गरेको आरोप छ।

पक्राउ पर्नेहरूमा अध्यक्ष गोदार (पोखरा–१०, अमरसिंहचोक), कोषाध्यक्ष हिरामणी दाहाल (पोखरा–१४, चाउथे), सचिव दिलबहादुर केसी (पोखरा–११, फुलबारी), सञ्चालक समितिका सदस्य दोर्जे तामाङ (पोखरा–१७, विरौटा), व्यवस्थापक भीष्मप्रसाद गुरुङ (पोखरा–१४, छिनेडाँडा), बजार प्रमुख बेदीप्रसाद सुवेदी (पोखरा–३, तेर्सापट्टी) र पूर्वसचिव तथा सदस्य ईन्द्रप्रसाद द्वा (पोखरा–९, नयाँबजार) रहेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डीएसपी हरिबहादुर बस्नेतले यो जानकारी दिएका हुन्।

यस समूहले सहकारीको कुल ८८ करोड ७० लाख ९८ हजार ९ सय ६२ रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ। सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशका वित्तीय छानबिनकर्ता निर्मल गौतमले तयार पारेको प्रतिवेदनका आधारमा उजुरी परेपछि कास्की प्रहरीले थप अनुसन्धान सुरु गरेको थियो। सहकारी रजिष्ट्रारको कार्यालयले कार्तिक १८ गते कारबाहीका लागि पत्राचार गरेको थियो। प्रहरीले बुधबारदेखि यस मुद्दामा थप अनुसन्धान अघि बढाएको छ।

छानबिनका क्रममा ठगीको धन्दा लुकाउन भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, काठमाडौंका शाखा अधिकृत प्रेम राज लुईंटेललाई लाखौं रुपैयाँ घुस दिएको तथ्य पनि फेला परेको छ। विगत ८ वर्षदेखि अध्यक्ष रहेका गोदारले अनुगमनमा आएका लुईंटेललाई पाँच लाख रुपैयाँ नगद घुसवापत दिएको प्रतिवेदनमा उल्लेख छ। लुईंटेलले सहकारीलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा कारबाही हुनबाट जोगाउनका लागि घुस लिएको बताइएको छ।

बचतकर्ताहरूले रकम फिर्ता नपाएपछि सहकारी रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेशमा छानबिनका लागि उजुरी दिएका थिए। त्यसपछि सहकारीभित्रका धेरै बेथिति र समस्याहरू सार्वजनिक भएका थिए। छानबिनका क्रममा सहकारीका सञ्चालक, व्यवस्थापक र ऋणीहरू समेत मिलेर रकम हिनामिना गरेको तथ्य खुलेको हो।

पोखरा सहकारीले २०५८ सालदेखि पोखरा–८, सिर्जनाचोकबाट आफ्नो सेवा सुरु गरेको थियो र हाल पोखरा–९, नयाँबजारबाट प्रधान कार्यालय सञ्चालन गर्दै आएको छ।

Exit mobile version