ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आवद्ध संस्था सुशासनका लागि नागरिक समाज कास्कीले सार्वजनिक सेवाप्रवाहलाई थप चुस्त, स्फुर्त र पारदर्शी वनाउन आग्रह गरेको छ ।
भदौ २३ र २४ गतेको जेनजी विद्रोहमा जलेका सरकारी कार्यालयको स्थलगत अवलोकन पछि कार्यालय प्रमुखहरुसंगको भेटमा संस्थाले छरितो, मितव्ययी र सुशासनयुक्त सेवामा जोड दिन भनेको हो ।
संस्थाका अध्यक्ष सिरोजविजय कोईरालाको नेतृत्वमा कास्कीका चार वटा सरकारी कार्यालयले अहिले प्रदान गरेको सेवाप्रवाहको स्थलगत अवलोकन गरिएको थियो ।
सबै संरचना जलेको अवस्थामा पनि सरकारी कार्यालयले नागरिकप्रति सेवा दिन देखाएको तत्परताप्रति अध्यक्ष कोईरालाले प्रशंसा गरे ।
राज्यका निकायप्रति घटेको जनविश्वास वढाउन विद्युतीय शासन मार्फत सेवा विस्तार गरि विश्वास आर्जन गर्न सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीले सरकारी सेवाप्रदायक निकायहरुलाई आग्रह गरिएको अध्यक्ष कोईरालाले जानकारी दिए ।
कार्यालय प्रमुखहरुलाई सार्वजनिक सेवाप्रदायक निकायमा अवको संरचना अझै छरितो, सरल, प्रभावकारी र जवाफदेही वनाउन संस्थाका तर्फवाट सुझाव समेत दिईएको थियो ।
साथै, कार्यालय प्रमुख तथा सम्वन्धीत कर्मचारीसंगको भेटमा सार्वजनिक खरिद प्रणालीको पालना, सहयोग तथा अनुदानहरुको पारदर्शी विवरण सार्वजनिकीरण, विद्युतीय सुशासनका औजारहरुको प्रयोग, खुल्ला वजेट र खर्च प्रणालीलाई सुनिश्चितता, सामाजिक जवाफदेहिताका संयन्त्रहरुको तेस्रो पक्षवाट सञ्चालन, सदाचार नीति वनाई लागू गर्ने तथा भ्रष्टाचार नियन्त्रणका प्रवर्दधनात्मक कार्यहरुमा सक्रिय हुन संस्थाको तर्फवाट ध्यानाकर्षण गराईएको छ ।
सुनासले पोखरा महानगरपालिका, जिल्ला मालपोत कार्यालय कास्की, सवारी तथा लाईसेन्स कार्यालय कास्की गरि चार कार्यालयहरुको विद्यमान सेवाप्रवाहको अवस्था, जटिलता, सुशासन र सेवा सरलीकरण सम्वन्धी भावी कार्ययोजनाका विषयमा केन्द्रीत भएर कार्यालय प्रमुखसंग भेटघाट र स्थलगत कार्यालयहरुको अवलोकन गरेको हो ।
भेटमा कार्यालय प्रमुखहरुले नागरिकको सेवाका प्रति थप जिम्मेवार भएको, विषय परिस्थितमा पनि सवैको सहयोग र सहकार्यमा सेवा सुचारु गरिएको र सेवा सरलीकरण र छिटोछरितो वनाउने विषयमा प्रतिवद्ध भएको संस्थालाई जानकारी गराए ।
यो साता कास्कीमा रहेका सेवाप्रदायक नागरिकहरुको भिड लाग्ने जिल्ला तथा प्रदेश कार्यालयहरुको विद्यमान सेवाप्रवाहका विषयमा स्थलगत अवलोकन र कार्यालय प्रमुख तथा सम्वन्धीत कर्मचारीहरुसंग भेटघाट गर्ने कार्यक्रम राखेको छ ।
