प्राधिकरणका ट्रान्सफर्मरबाट तामाका तार चोरी, प्रहरी र स्थानीयसँग गुहार

पोखरामा नेपाल विद्युत प्राधिकरणका ट्रान्सफर्मरहरूबाट तामाका तार चोरी हुने क्रम बढेको छ।

पोखरा १८ को ग्यारजाती र पोखरा २२ को पुम्दीभुम्दी लगायतका विभिन्न स्थानमा चालु अवस्थामा रहेका ट्रान्सफर्मरबाट तार चोरी भएको नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ।

यी चोरीका कारण ती क्षेत्रका उपभोक्ताहरू केही समय विद्युत सेवाबाट वञ्चित भएका छन्। तार चोरीको बढ्दो क्रमलाई मध्यनजर गर्दै प्राधिकरणले सूचना जारी गरी ट्रान्सफर्मर क्षेत्र वरपर अपरिचित व्यक्ति देखिएमा जानकारी गराउन अनुरोध गरेको छ।

प्राधिकरण पोखरा वितरण केन्द्रका अनुसार, ग्रामीण भेगमा तार चोरीका घटना बढी देखिएका छन्।

सेवा नै अवरुद्ध पार्ने गरी भएका यी कार्यहरूप्रति प्राधिकरणले गत असोजमा जिल्ला प्रहरी कार्यालय कास्कीको ध्यानाकर्षण गराउँदै चोरीमा संलग्न समूहको पहिचान गरी कारबाही गर्न र ट्रान्सफर्मर क्षेत्रमा सुरक्षा माग गरेको छ।

प्राधिकरणले ट्रान्सफर्मर वरपर शंकास्पद व्यक्ति वा समूह देखिएमा प्रहरी प्रशासन वा नोलाईट नम्बर ०६१-५७००३० र ०६१-५७००३१ मा जानकारी गराई सहयोग गर्न ग्राहकहरूलाई आग्रह गरेको छ।

Exit mobile version