सानै ताकाइची बनिन् जापानकी पहिलो प्रधानमन्त्री

जापानकी सानै ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् ।

संसद्‌मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन् । योसँगै जापानमा पहिलोपटक महिला सर्वोच्च कार्यकारी पदमा पुगेको बीबीसीले जनाएको छ ।

तल्लो सदनका सांसदले ताकाइचीलाई जापानको नयाँ प्रधानमन्त्रीका रूपमा चयन गर्दा उनले २३७ मत प्राप्त गरिन् । यो संख्या सामान्य बहुमतका निम्ति आवश्यकभन्दा बढी हो ।

बेलायती दिवंगत पूर्वप्रधानमन्त्री मार्गरेट थ्याचरकी प्रशंसक ६४ वर्षीया यी रूढिवादी नेत्रीलाई जापानको ‘आइरन लेडी’ भनेर चिनिन्छ । प्रधानमन्त्री बन्ने उनको यो तेस्रो प्रयास हो ।

‘स्क्यान्डल’ले ग्रस्त उनको पार्टी एलडीपीले पछिल्लो पाँच वर्षमा चार प्रधानमन्त्री देखिसकेको छ ।

उनी एलडीपीको कट्टरपन्थी खेमासँग निकट छिन् । दिवंगत पूर्वप्रधानमन्त्री शिन्जो आबेकी राजनीतिक चेलीका रूपमा उनी परिचित छिन् ।

उनीसामु सुस्त अर्थतन्त्रको सामना गर्ने, अमेरिका–जापान सम्बन्धलाई स्थिर राख्ने र स्क्यान्डल तथा आन्तरिक द्वन्द्वले हल्लिएको सत्तारूढ दललाई एकजुट बनाउनेजस्ता धेरै चुनौती छन् ।

Exit mobile version