पोखरा उद्योग वाणिज्य संघमा आबद्ध सदस्य र पर्यटन व्यवसायीहरुले आज पोखरामा पीडा र समस्याका पोका फुकाएका छन् ।
हालै भएको जेन-जी आन्दोलनबाट आहत भएको भन्दै उनीहरुले सरकारसँग सहयोगको याचनासमेत गरेका छन् ।
जेन-जी स्वयंले बिरालो मार्न जाँदा बाघ फन्दामा परेको अभिव्यक्ति राख्दै व्यवसायीहरुले आन्दोलनको मौकामा घुसपैठ गरी स्वार्थसिद्ध गरेको आरोप लगाए ।
व्यवसायीहरुले भनेका छन् ‘जेन-जीको माग फरक थियो, तर सामान्य राजनीतिक पदमा रहेकाकारण उनीहरुको भौतिक सम्पत्ति सत्यानाश पार्ने काम भयो ।’
मुख्यतयः लेकसाइडका होटलमाथि भएको आगजनी र विध्वंशमा सामान्य राजनीतिक पद धारण गरेका व्यक्तिका सम्पत्तिलाई जानाजानी निशाना बनाएको उनीहरुले बताए ।
संघले आयोजना गरेको ‘उद्योगी व्यवसायीमाथिका आक्रमणले निम्त्याएका बहूआयामिक असर निराकरणका उपायहरु’ विषयक अन्तक्र्रियामा समस्या समाधानका उपायहरु खोज्ने प्रयास भन्दा समस्यै–समस्याका चाङ अघि सारिएका थिए ।
‘होटल सरोवर जलिरहेको भोलीपल्ट बिहान आलु चोरेर भाग्नेहरु पनि देखिए’ एक व्यवसायीले सुनाए ‘के तिनीहरु जेनजी हुन् र ?’ यसर्थ विध्वंशकारीहरुउपर कारवाही हुनुपर्ने समस्त व्यापारीले माग गरे ।
त्यस्तै, व्यवसायीहरुले एकपछि अर्काे मार खेपिरहेको सुनाउँदै अब बैंकले पनि किस्ता तिर्न तारान्तार गर्दा समस्या झनै जटिल बनेको दुखेसो पोखे ।
व्यवसायीहरुको समस्या सुनेपछि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले कुनैपनि सरकार व्यवसायीमैत्री हुन नसक्दा देशको आर्थिक वृद्धिदरमा अपेक्षित सुधार हुन नसकेको टिप्पणी गरे ।
अझैपनि निर्धारित ६ महिनाको समयभित्र निर्वाचन नभए आर्थिक क्षेत्र तहसनहस हुने उनले बताए ।
‘निषेधको राजनीति नरोकिए बाँकी रहेको उद्योग पनि खरानी बन्न सक्छन्’ मुल्मीले भने ‘आन्दोलनका तालिका अझै आइरहेका छन्, जसले जोखिम बढाइरहेको छ ।’
देशको अर्थतन्त्र सुदृढ गर्न सबैले हातेमालो गर्न आवश्यक भएको बताउँदै मुल्मीले सरकारको यसको मुख्य सरोकारवाला निकाय भएको जनाएका छन् ।