दोस्रो पर्वतीय दौडका लागि १ सयले नाम दर्ता गराए,२५० पुगे पछि दर्ता बन्द

पोखरा । विश्व पर्यटन दिवस (२७ सेप्टेम्बर) अवसरमा पोखरामा हुने दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड प्रतियोगितामा भाग लिने धावकको नाम दर्ता जारी छ । हालसम्म मधेश प्रदेशबाहेक ६ वटा प्रदेशबाट १ सय जना खेलाडीहरुले नाम दर्ता गराएका छन् ।

प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा भाग लिन नेपालसहित बेलायती नागरिकले पनि नाम दर्ता गराएका छन् । कम्तीमा २ सयदेखि २५० जना खेलाडीहरु सहभागी गराउने लक्ष्य रहेकाले दर्ता अझै केही दिन रहने उनले बताए । फष्ट कम फष्ट सर्भिस आधारमा २५० जना खेलाडीहरुको नाम दर्ता पुग्नसाथ फर्म बन्द गरिनेछ । फर्म भर्न चाहनेले पोखरा क्लिक अनलाइनमा गई भर्नुपर्नेछ ।

खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगिता यसअघि असोज ४ मा हुने भनिए पनि जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिले एक सातापछि धकेलिएको हो ।

पोखरा–२२ स्थित विश्व शान्ति स्तुपदेखि कालाबाङ घरेडी बुद्धपार्कसम्म हुने दौडमा ६ इभेन्ट समावेश गरिएको छ । विभिन्न इभेन्टका विजेताहरुलाई नगद पुरस्कार व्यवस्था रहेको आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले जानकारी दिए ।

प्रतियोगितामा करिब १६ लाख ९१ हजार रूपैयाँ खर्च हुने अनुमान रहेको व्यवस्थापक सागर सुनारले बताए । फाईल फोटो

Exit mobile version