कास्की कारागारका ३ सय ४८ कैदी फर्किए, ४ सय २५ अझै फरार

हालैको जेनजी आन्दोलनका क्रममा मौका छोपेर फरार कास्की कारागारका ७ सय ७३ कैदीमध्ये ३ सय ४८ जना फर्किएको कारागार प्रशासनले जनाएको छ ।

कारागारमा रहेका चार सय २५ जना कैदीबन्दी अझै फरार छन् ।

कतिपय कैदीबन्दी आफै कारागार फर्किएको र केहीलाई भाग्ने क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

भागेका कैदीबन्दीलाई कारागार फर्काउन प्रहरी सक्रिय रहेको उनको भनाइ छ ।

प्रदर्शनकारीले गत भदौ २४ गते राति कारागार तोडेर ३५ महिलासहित सात सय ७३ कैदीबन्दीलाई भगाएका थिए ।

जिल्ला प्रहरी कार्यालयको हिरासतबाट भागेका थुनुवालाई पनि खोजी गरी नियन्त्रणमा लिने काम भइरहेको सूचना अधिकारी बस्नेतले बताए । उनका अनुसार हिरासतबाट ८३ थुनुवा भागेका थिए ।

कारागारका सूचना अधिकारी महेन्द्रबहादुर कुँवरले कैदीबन्दी फर्कने क्रम जारी रहेको बताउँदै भागेर गएका कैदीबन्दी र थुनुवा देखेमा कारागार कार्यालय र प्रहरीमा खबर गर्न अनुरोधसमेत गरेका छन् ।

Exit mobile version