गण्डकी मुख्यमन्त्री पाण्डेको अपील -‘संयम र संवादबाट अघि बढौं’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालको विषम परिस्थितिमा मुलुकलाई संयम, संवाद र एकताको बाटोबाट मात्रै अगाडि बढाउन सकिने बताएका छन् ।

जेनजी युवाले सञ्चालन गरेको आन्दोलनका क्रममा भएको मानवीय क्षति र सार्वजनिक तथा निजी सम्पत्तिको विनाशप्रति उनले गहिरो शोक व्यक्त गरेका छन् । उनले जीवन गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

मुख्यमन्त्री पाण्डेले भदौ २३ गतेको बल प्रयोगबाट भएको मानवीय क्षति र त्यसपछिका आगजनी तथा तोडफोडका घटनाले मुलुकलाई स्तब्ध बनाएको बताए ।

संघीय संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति कार्यालय, गण्डकी प्रदेशसभा भवन लगायतका सरकारी तथा निजी सम्पत्तिमा भएको क्षति दुःखद र निन्दनीय भएको उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेतामाथि भएको आक्रमणलाई अमानवीय भन्दै मुख्यमन्त्री पाण्डेले गहिरो खेद प्रकट गरेका छन् ।

उनले राष्ट्रपतिबाट अघि बढाइएको संवाद पहललाई गण्डकी प्रदेश सरकारले स्वागत गर्ने र यसलाई सफल बनाउन सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

उनले युवापुस्ताको आकांक्षालाई आत्मसात गर्दै संवैधानिक रिक्तता सिर्जना हुन नदिई वैधानिक र लोकतान्त्रिक बाटोबाट दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन् । साथै, भदौ २३ को बल प्रयोग र त्यसपछिका घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्नेमा जोड दिए ।

शान्तिपूर्ण आन्दोलनको नाममा घुसपैठ गरी नियोजित विध्वंस गर्ने प्रवृत्ति अस्वीकार्य भएको बताउँदै मुख्यमन्त्री पाण्डेले हालको घटनाक्रमले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षा गर्न बाध्य पारेको र अब जनअपेक्षा अनुसार जवाफदेही, पारदर्शी र उत्तरदायी कार्यमार्फत पुनर्निर्माण र स्थायित्वमा अघि बढ्नु पर्ने उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकार शान्ति, स्थायित्व र समृद्धिको यात्रामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Exit mobile version