लेकसाइडका स्पा र ब्यूटीपार्लरबाट ४ बालिकाको उद्धार

पोखराको लेकसाइड क्षेत्रमा सञ्चालित स्पा तथा ब्युटी पार्लरबाट उमेर नपुगेका चार जना बालिकाको उद्धार गरिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको संयुक्त सुरक्षा टोलीले भदौ ३ गते साँझ शंकास्पद व्यवसायहरूको अनुगमन गर्ने क्रममा उनीहरूलाई उद्धार गरेको हो ।

जिल्ला प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय वैदाम र सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गणका प्रतिनिधि सम्मिलित टोलीले लेकसाइडका ९ वटा शंकास्पद स्पामा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा ४ वटा स्पा तथा ब्युटी पार्लरबाट १८ वर्षभन्दा कम उमेरका बालिकाहरूलाई काममा लगाएको पाइएको थियो ।

उद्धार गरिएका बालिकाहरूलाई सोही दिन ‘राईट फर चिल्ड्रेन’ नामक संस्थाको सहयोगमा कोपिला नेपालमा अस्थायी संरक्षणका लागि पठाइएको छ ।

श्रम तथा रोजगार कार्यालय पोखराले पीडितमध्ये दुई बालिकालाई क्रमशः १९ हजार ५५० र १२ हजार ८५० रुपैयाँ पारिश्रमिक दिलाएको छ ।

बालश्रम गराएबापत प्रत्येक सञ्चालकलाई १० हजार रुपैयाँ जरिबाना तिराएर बालिकाहरूलाई परिवारको जिम्मा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले सम्बन्धित सञ्चालकहरूलाई व्यवसाय दर्ता तथा नवीकरण गर्ने, नियमित राजस्व तिर्ने, १८ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने र ‘रात्रीकालीन/पूर्णकालीन समयमा होटल तथा रेष्टुरेन्ट सञ्चालन सम्बन्धी मापदण्ड, २०८०’ पूर्ण रूपमा कार्यान्वयन गर्ने शर्तमा कागज गराएर छाडेको छ ।

यस समाचारमा सांकेतिक तस्बिरको प्रयोग गरिएको छ ।

Exit mobile version