माग सुनुवाइ नभए ‘भदौ १३ देखि कालो ब्यानर राखेर सूचना तथा प्रसारण विभागमा धर्ना दिन्छौ’: पत्रकार महासघं

काठमाडौँ । नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको छ । सोमबार बसेको महासंघको डिजिटल मिडिया विभागको बैठकले सरकारले करिब एक महिनादेखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम ठप्प पारेको भन्दै तत्काल सुरु गर्न माग गरेको हो ।

विभागका संयोजक प्रकाश धौलाकोटीका अनुसार बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम तत्काल सुचारु गर्न माग गर्दै ११ भदौमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ । माग सुनुवाइ नभए १३ भदौदेखि कालो ब्यानर राखेर सूचना तथा प्रसारण विभागमा धर्ना दिने निर्णय भएको छ ।

सरकारले छापाखाना तथा प्रकाशनसम्बन्धी ऐनमा संशोधनपछि गएको २० साउन देखि अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरणको काम रोकिएको छ । सरकारले सञ्चारमाध्यम दर्ता ठप्प पारेर नागरिकको संवैधानिक हक हनन् गरेको महासंघको ठहर छ ।

अनलाइन सञ्चारमाध्यम नवीकरण नहुँदा पत्रकारहरूले प्रेस प्रतिनिधि प्रमाणपत्र समेत नवीकरण गर्न पाएका छैनन् । नवीकरण नभएकै कारण चाडपर्वको मुखमा विज्ञापनसम्बन्धी कारोबारमा समेत असहजता सिर्जना भएको छ ।

Exit mobile version