नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीको आयोजनामा पोखरामा ईक्यान शैक्षिक मेला हुने भएको छ।
भदौ २० र २१ गते (शुक्रबार र शनिबार) पोखरामा आठौं संस्करणको मेला हुने ईक्यान कास्कीले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।
ईक्यानका अनुसार मेलामा विभिन्न मुलुकका विश्वविद्यालय, कलेज तथा शैक्षिक संस्थाका प्रतिनिधि, ईक्यानका सदस्य परामर्श संस्थान, बैंक तथा विदेश अध्ययनसंग सम्बन्धित करिब ६० वटा स्टल रहनेछन्।
मेलामा सहभागी विद्यार्थी र अभिभावकले अमेरिका, अस्ट्रेलिया, क्यानडा, बेलायतलगायतका मुलुकमा अध्ययन गर्ने अवसर, छात्रवृत्ति, शुल्क, बसोबास र भविष्यका सम्भावनाबारे प्रत्यक्ष जानकारी पाउने संघका अध्यक्ष ओमप्रकाश गैह्रेले जानकारी दिए।
पोखराका विद्यार्थीलाई विदेशमा अध्ययन सम्बन्धी प्रत्यक्ष जानकारी दिलाउन मेलाको आयोजना गरिएको अध्यक्ष गैह्रेले बताए। उनका अनुसार विद्यार्थीले आफ्नो रुचि अनुसार विषय छान्न, पढ्न चाहेको मुलुक र विश्वविद्यालय रोज्न मेलाले सहजता दिने अपेक्षा गरिएको छ।
मेलामा विद्यार्थीलाई आवश्यक शैक्षिक परामर्श दिने, भविष्यको योजना बनाउने, विश्वविद्यालय भर्ना प्रक्रिया तथा योग्यता सम्बन्धी जानकारी उपलब्ध गराइनेछ।
साथै सहभागी विद्यार्थीलाई ल्यापटप, ट्याब, मोबाइल, चलचित्र टिकटलगायत आकर्षक उपहारसमेत प्रदान गरिने मेला संयोजक तथा ईक्यान कास्कीका उपाध्यक्ष सन्तोष शाहीले बताए।
मेलामा प्रस्तुतकर्ताका रूपमा टाइम्स एजुकेशनल रहनेछ भने सहकार्य ब्रिटिस काउन्सिलले गर्नेछ।
त्यस्तै, ग्रेस इन्टरनेशनल, चर्चिल इन्स्टिच्युट अफ हायर एजुकेशन, मोनारो हायर एजुकेशन, द लायन इन्स्टिच्युट, सिड्नी स्कूल अफ बिजनेस एण्ड टेक्नोलोजी (एसएसबिटी) लगायतका संस्थाहरूले मेला सहकार्य गर्नेछ।