एनपीआई अस्पताल उद्घाटन गर्दै मुमले भने ‘गण्डकी स्वास्थ्यको हब’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज गोरखाको हरमटारीमा एनपिआई गोरखा अस्पताल उद्घाटन गरेका छन् ।

निजी क्षेत्रबाट खोलिएको अस्पतालमा १ सय बेड रहेको छ । सोही बेड संख्या र सुविधायुक्त अस्पतालको उद्घाटनपछि मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश स्वास्थ्य सेवाको हब बन्दै गएको बताएका हुन् ।

प्रदेश सरकारको अनुमतिमा सञ्चालनमा आएको अस्पतालबाट जिल्ला छाडेर अन्यत्र उपचारकैलागि जानुपर्ने बाध्यता हटेको उनले सुनाए ।

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न सदैव तयार रहेको जनाउँदै पाण्डेले आम नागरिकलाई सर्वसुलभ मूल्यमा सेवा दिन अस्पताललाई आग्रहसमेत गरे ।

५५ करोड रुपैयाँका लागतमा अस्पताल स्थापना भएको हो ।

अस्पतालमा विशेषज्ञ चिकित्सकसहित फिजिसियन, हाडजोर्नी, बालरोग, स्त्री, सर्जन, रेडियोलोजिष्ट र एनेथेसियोलोजिष्टलगायतका सेवा रहेका छन् ।

Exit mobile version