नेपाल मेडिकल काउन्सिलका अनुसार गएको आर्थिक वर्ष विदेशमा अध्ययन वा कामका लागि चारित्रिक प्रमाणपत्र लिने चिकित्सकहरूको सङ्ख्या २,६८१ छ।
त्यसमध्ये २९१ जनाले नेपालमै रहनका लागि ‘गुड स्ट्यान्डिङ सर्टिफिकट’ भनिने चारित्रिक प्रमाणपत्र लिएका छन्।
सन् २०२० अघि मेडिकल र डेन्टल गरी चिकित्सकको लाइसन्स परीक्षा उत्तीर्ण गर्नेहरूको सङ्ख्या २६ हजार आसपास मात्रै रहेको काउन्सिलको तथ्याङ्कले देखाउँछ।
चिकित्सा क्षेत्रको नियामक निकाय मेडिकल काउन्सिलका अनुसार सबैभन्दा धेरै चिकित्सकहरूले अमेरिका जानका लागि चारित्रिक प्रमाणपत्र लिएका छन्। त्यसपछि यूके, माल्दिभ्स, अस्ट्रेलिया, भारत, क्यानडा लगायतका देशहरू छन्।
नेपाली चिकित्सकहरू सिङ्गापुरदेखि साउदी अरबसम्म गइरहँदा देशमा जनसङ्ख्याको अनुपातमा चिकित्सकहरूको अभाव कम गर्ने सरकारी लक्ष्यमा भने चुनौती थपिने क्रममा छ।
नेपाल मेडिकल काउन्सिलमा दर्ता चिकित्सकहरूको पछिल्लो सङ्ख्या ३८,४९९ छ। त्यसमध्ये केही विदेशी चिकित्सकहरू पनि छन्।
नेपालमा करिब ११,००० विशेषज्ञ चिकित्सक छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले पनि काठमाण्डू उपत्यकाबाहिर चिकित्सक र स्वास्थ्यकर्मीहरूको अभाव देखाएको छ।
सङ्घीय अस्पतालहरूमा चिकित्सकहरूको दरबन्दी रिक्त नभए पनि प्रादेशिक र स्थानीय अस्पतालहरूमा चिकित्सकहरू धेरै रिक्त रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बताउँछ ।
त्यसको एउटा कारण प्रदेश लोकसेवा आयोगबाट चिकित्सकहरूको पदपूर्तिमा भएको ढिलाइहो नेपालमा सङ्घीय संरचना लागु भएपछि स्वास्थ्यकर्मीहरूको समायोजन हुँदा अधिकांशले सङ्घीय सेवा रोजेका थिए।
हालको डेटामा देशभरि तीनवटै तहमा सबै स्वास्थ्यकर्मीहरूको ३२-३३ हजार दरबन्दी हुँदा २०-२१ हजारभन्दा धेरै स्वास्थ्यकर्मीहरूको पदपूर्ति भएको छैन ।
नेपालमा चिकित्सा अध्ययन गर्ने युवाहरूको सङ्ख्या बढ्दो क्रममा रहे पनि नयाँ चिकित्सकहरूलाई स्वदेशमै टिकाउन चुनौती देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा प्रत्येक १०,००० जनसङ्ख्याबराबर १० जना मेडिकल डाक्टरहरू छन्।
उक्त संयुक्त राष्ट्रसङ्घीय निकायले दिगो विकास लक्ष्य हासिल गर्न प्रत्येक १० हजार जनसङ्ख्याका लागि ४४ जना डाक्टर, नर्स र सुँडेनीहरू आवश्यक पर्ने जनाएको छ।
चिकित्सा शिक्षा आयोगको नेपाल स्वास्थ्य जनशक्ति प्रक्षेपणले विसं २०८७/८८सम्म प्रति १० हजार जनसङ्ख्यामा स्वास्थ्य जनशक्ति अनुपात ४७.४५ हुने प्रक्षेपण गरेको छ।
उक्त प्रतिवेदनले नेपालमा स्वास्थ्य जनशक्तिको औसत वार्षिक वृद्धिदर ३.६ प्रतिशत हुने आकलन गरे पनि विशेषज्ञ चिकित्सकको वृद्धिदर न्यून हुने प्रक्षेपण गरेको छ।