‘नेप्से एआई’ डाउनलोड नगर्नुहोस्, बैंक खाता रित्तिन सक्छ: –सीआइबी

नाफा कमाउने प्रलोभन देखाएर उक्त एप डाउनलोड गर्न लगाउने र त्यसपछि पीडितको मोबाइललाई रिमोट कन्ट्रोलमा लिई बैंक खाता रित्याउने काम भइरहेको ब्युरोले जनाएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्टाग्राम)मा फैलिएको भ्रामक विज्ञापनको पछि नलाग्न आग्रह गरेको हो ।

ठगी समूहले एप इन्स्टल गराएपछि ‘रिमोट सेसन’ सुरु गरी पीडितको मोबाइलको सम्पूर्ण नियन्त्रण आफ्नो हातमा लिने, बैंक खातामा रहेको रकम अन्यत्र ट्रान्सफर गर्ने र प्रमाण नष्ट गर्न मोबाइलको सम्पूर्ण डेटा र अन्य एपहरू समेत मेटाइदिने गरेको पाइएको छ ।

ब्युरोले एक पीडितको उदाहरण दिँदै ‘जोन डोई’ (सांकेतिक नाम) नामक व्यक्तिले फेसबुकको विज्ञापनबाट  ‘Nepse AI’ एप डाउनलोड गर्दा उनको बैंक खाताबाट २८ लाख ६१ हजार १ रुपैयाँ ठगिएको घटना सार्वजनिक गरेको छ ।

रकम चोरी गरेपछि उनको मोबाइलको स्क्रिन केहीबेर ब्ल्याङ्क (खाली) भएको र मोबाइलमा रहेका सबै डेटा तथा एपहरू मेटिएको उजुरी परेको विज्ञप्तिमा उल्लेख छ ।

Exit mobile version