एएफसी महिला यू-२० फुटबल प्रतियोगिता एसियन कप अन्तर्गत आज नेपालले भुटानसँग भिड्ने तालिका रहेको छ ।
समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्रा घरेलु टोली भुटानविरुद्धको खेलबाट सुरु गर्नेछ।
खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरु हुने छ।
प्रतियोगिताको पूर्वसन्ध्यामा नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले आफ्नो टिम यू२० महिला एसियन कपमा छनोट हुनेमा आफू ढुक्क रहेको बताए।
यस समूहमा बलियो उत्तर कोरिया र साउदी अरब पनि छन्। उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो। सो समूहमा रहेको अर्को टिम मंगोलियाले भने प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो।
३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन्। हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यू२० एसिया कपमा स्थान बनाउने छ।