यसै आर्थिक वर्षमा ४ अस्पताल थपिएपछि लैङ्गिक हिंसापीडितलाई सेवा दिने अस्पतालको संख्या ९७ पुगेको छ ।
यस आवदेखि कोशी प्रदेशको रंगेली र कटारी अस्पताल, सर्लाहीको लालबन्दी अस्पताल र बागमती प्रदेशको काभ्रोपलाञ्चोकस्थित मेथिन्कोट अस्पलतालमा हिंसा पीडितलाई निशूल्क सेवा दिने प्रणालीमा जोडिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकद्वार संकट व्यवस्थापन केन्द्र संचालन मागर्दशन परिमार्जन गर्दै थप चार वटा अस्पतालहरुमा उक्त केन्द्र सञ्चालन गर्न लागेको हो।
लैङ्गिक हिंसा पीडितलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवाहरु एकद्वारबाट उपलब्ध गराई लैङ्गिक हिंसा नियन्त्रण गर्ने सरकारको उद्देश्य छ।
सरकारले कोशी प्रदेशमा दुई, मधेशमा एक र बागमतीमा एक वटा केन्द्र विस्तार गरेको हो।
केन्द्रले एकीकृत रुपमा महिला विरुद्धका हिंसालाई सम्बोधन गर्ने, हिंसा पीडित बालिका, किशोरी र महिलाका साथमा रहेका बालबच्चा समेतलाई उपचार तथा आश्रयको व्यवस्था मिलाउने मार्गदर्शनमा उल्लेख छ।
सबै किसिमका लैङ्गिक हिंसाबाट प्रभावित व्यक्ति यसको लक्षित समूह हुन्। सशस्त्र द्धन्द्ध तथा प्राकृति विपद तथा महामारीका कारण हिंसामा परेका र पर्नसक्ने महिला वा बालबालिका, एचआइभी तथा संक्रमित भई लैङ्गिक हिंसाबाट प्रभावित र तेस्रो लिंगी समूहका व्यक्तिहरुलाई पनि यसले समेटेको छ।
केन्द्र स्थापना भएको अस्पतालबाट लैङ्गिक हिंसा पीडित वा प्रभावित व्यक्तिलाई २४ सै घण्टा निशूल्करुपमा सेवा उपलब्ध गराउनुपर्नेछ।
मार्गदर्शनले लैङ्गिक हिंसा पीडितलाई अस्पतालसम्म सार्वजनिक यातायात सेवाबाट आवत जावत गर्न तथा आवश्यकता अनुसार एम्बुलेन्स सेवाका लागि खर्च उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।
पीडितलाई अन्य अस्पतालमा उपचारका लागि रेफर गर्नुपर्ने भए मामला व्यवस्थापन समितिको निर्णय अनुसार उपचार, यातायात, एवं खाना खर्च, पीडितको साथमा बालबालिका भएमा उनीहरुका लागि उपचार, यातायात तथा खाना खर्च समेत बेहोनुपर्नेछ।
पीडितको साथमा अभिभावकरसहयोगी समेत जानुपर्ने अवस्थामा एक जनाको यातायात तथा खाना खर्च समेत बेहोनुपर्ने व्यवस्था छ।
गण्डकी प्रदेशमा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले उल्लेखित सेवा उपलब्ध गराउने छ ।
तस्बिरः पश्चिमाञ्चल सामुदायिक अस्पताल, पोखरा