गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वको टोली एक साता लामो चीन भ्रमण सकेर पोखरा फर्किएको छ ।
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औं वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारले आयोजना गरेको कार्यक्रममा सहभागी भएर टोली सोमबार पोखरा फर्किएको हो ।
भ्रमणबाट गण्डकीको विकासमा आशा सञ्चारित भएको र आर्थिक एवं पर्यटन क्षेत्रमा आगामी दिन बृहत्तर लाभ हुने सम्भावना रहेको मुख्यमन्त्री पाण्डेले बताएका छन् ।
भ्रमणका क्रममा तिब्बत स्वायत्त क्षेत्रका लागि चिनियाँ कम्युनिष्ट पार्टीका सचिव वाङ जुनझेङसँग भेट भएको मुख्यमन्त्री पाण्डेका प्रेस संयोजक नरहरि सापकोटाले बताए । भेटमा मुख्यमन्त्री पाण्डेले तिब्बतसँग जोडिएको मुस्ताङको कोरला नाका नियमित सञ्चालन गरी दुई देशबीच व्यापार र पर्यटन प्रर्वद्धनमा सहकार्यको प्रस्ताव गरेको उनको भनाई छ ।
तिब्बती नाका भएर नेपाली र अन्य विदेशीलाई मानसरोवरको यात्रामा सहजीकरण गर्ने, चिनियाँ सहरबाट काठमाडौं, पोखरा सिधा उडान थप गर्ने, तिब्बत र गण्डकी प्रदेशबीच लगानी र पर्यटन प्रर्वद्धनका क्षेत्रमा सम्बन्ध कायम र विस्तार गर्ने, नेपाल र चिनियाँ ठूला लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजीकरण गर्ने, पोखराबाट ल्हासा जाने पर्यटकको भिसा र प्रवेश पास उपलब्धतामा सहजीकरण र सहकार्य गर्ने–गराउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।
सचिव वाङले कोरला नाकालाई व्यवस्थित गर्ने विषय सहकार्यको राम्रो अवसर हुन सक्ने बताए । कोरला नाका नियमित सञ्चालन र व्यवस्थापनमा तिब्बत सरकार पनि सकारात्मक रहेको उनले बताए । दुई देशबीच पर्यटन, कृषि, उद्योगलगायत क्षेत्रमा सहकार्य गर्न तिब्बत सरकार सकारात्मक रहेको उनको भनाइ थियो ।