गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चीन भ्रमणका क्रममा कोरला नाका नियमित सञ्चालनका लागि प्रस्ताव गरेका छन् ।
तिब्बत स्वायत्त क्षेत्रका लागि सिपिसीका महासचिव वाङ झोङजुनसँगको भेटमा उनले यस्तो प्रस्ताव राख्दा तिब्बत सरकारले सकारात्मक प्रतिक्रिया दिएको छ ।
एक हप्ते चीन भ्रमण सकेर मुख्यमन्त्री पाण्डे आज पोखरा फर्किएका हुन् । नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्ष प्रवेशको अवसरमा तिब्बत सरकारको आयोजनामा भएको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ गएका थिए ।
भेटका क्रममा मुख्यमन्त्री पाण्डेले दुई देशबिचको व्यापार र पर्यटन प्रवर्द्धनका लागि कोरला नाका सञ्चालन गर्न, तिब्बतको नाका भएर मानसरोवर यात्रा सहजीकरण गर्न र चीनका सहरबाट पोखरा सीधा उडान थप्न आग्रह गरे ।
उनले तिब्बत र गण्डकीबिच लगानी प्रवर्द्धन गर्ने, चिनियाँ लगानीकर्ता आकर्षित गर्न कर छुटमा सहजीकरण गर्ने तथा पोखराबाट ल्हासा जाने पर्यटकका लागि भिसा र प्रवेश पासमा सहजीकरण गर्न पनि प्रस्ताव गरेका थिए ।
जवाफमा सिपिसीका महासचिव वाङले कोरला नाकालाई व्यवस्थित गर्ने गण्डकी सरकारको प्रयासबारे आफू जानकार रहेको र यो सहकार्यको राम्रो अवसर हुन सक्ने बताए । उनले पर्यटन, कृषि, उद्योग लगायतका क्षेत्रमा सहकार्य गर्न तिब्बत सरकार सकारात्मक रहेको उल्लेख गरे ।
वाङले २०२३ नोभेम्बरमा आफूले गरेको गण्डकी प्रदेश भ्रमणको स्मरण गर्दै सम्बन्धलाई थप प्रगाढ बनाउन भ्रमणको निरन्तरतामा जोड दिएका थिए ।
भ्रमणकै क्रममा मुख्यमन्त्री पाण्डेले सिपिसीका लिन्जी नगर समितिका पार्टी सचिव आओ लिउक्वान र सो नगरका मेयर बातासँग पनि भेट गरेका थिए ।
भेटमा पोखरा र लिन्जी सहरबिच पर्यटन, खेलकुद र व्यापार लगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा द्विपक्षीय छलफल भएको थियो । मुख्यमन्त्रीको सचिवालयका अनुसार भ्रमण उपलब्धिमूलक रहेको र यसलाई दुवै पक्षले निरन्तरता दिने समझदारी बनेको छ ।