भ्रष्टाचारको तथ्यसंगत अनुसन्धान गर्न नेसपाको माग, प्रशासनसामु प्रदर्शन

डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), नयाँ शक्तिले आज जिल्ला प्रशासन कार्यालय कास्की सामु प्रदर्शन गरेको छ ।

करिब १ घण्टाको प्रदर्शनमा नेसपाले देशैभरि भइरहेका भ्रष्टाचारको अनुसन्धान, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद, प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री, विज्ञ र दक्षताका आधारमा मन्त्रीमण्डलको मागलगायतको माग गरेको छ ।

प्रदर्शनपछि नेसपाका केन्द्रिय सदस्य टिकाराम सुवेदी, गण्डकी प्रदेश सदस्य नेत्र चापागाईलगायतको समूहले प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा समक्ष ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ शर्माले उक्त पत्र प्रधानमन्त्रीको कार्यालयमा यथाशीघ्र पठाउने बताइन् ।

‘पोखरामा भइरहेको पछिल्लो घटनालाई नियालिरहेको बताउँदै जिल्लासँग सम्बन्धित मुद्दालाई तत्काल सम्बोधन गर्नेछु’ प्रजिअ शर्माले भनिन् ।

नेसपाले केन्द्रिय कार्यक्रमअनुरुप आज गण्डकी प्रदेशका सबै जिल्लामा प्रदर्शन र ज्ञापनपत्र बुझाएको गण्डकी संयोजक चापागाईले जानकारी दिए ।

Exit mobile version