‘मेरो सदस्यता कसैले चाहेर पनि खान सक्दैन’ –पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कसैले चाहँदैमा आफ्नो पार्टी सदस्यता खारेज नहुने बताएकी छिन् ।

आज राजधानीको कार्की बैंक्वेटमा पत्रकार सम्मेलन आयोजना गरी भण्डारीले भनिन् ‘अहिले कसैलाई लाग्यो भन्दैमा, चाहँदैमा मेरो सदस्यता खान सक्दैन ।’

उनले ४५ वर्ष अघिदेखि आफु पार्टीको सदस्य रहेको जनाउँदै जननेता मदन भण्डारीले नैै सदस्यता दिएर शपथ खुवाएकोसमेत बताइन् ।

‘उहाँ (मदन भण्डारी) कोशी–सगरमाथ इञ्चार्ज हुनुहुन्थ्यो, मैले त्यहीबेला सदस्यता लिएर उहाँबाट पार्टीको शपथ खाएर सक्रिय राजनीतिमा होमिएको हो’ भण्डारीको प्रष्टोक्ति छ ।

आफु देशकै सर्वाेच्च पदमा पुगिसकेको जनाउँदै भण्डारीले अब कुनैपनि पद नचाहिएको तर आफ्नो रगत, पसिना जोडिएको पार्टीमा सदस्य भने हुन चाहेको स्पष्ट पारिन् ।

संविधानतः राजनीति गर्न पाउने कुनैपनि नागरिकको अधिकार सुनिश्चित भएको बताउँदै उनले कसैको लहडमा पार्टी सदस्यता खारेज नहुने टिप्पणी गरिन् ।

भण्डारीले अन्त्यमा भनेकी छिन्, ‘म एमाले हो, मेरो सदस्यता यथावत छ ।’

Exit mobile version