सरकारी स्वामित्वको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गतको सेवा सुविधा लागू हुने समय छोटिएको छ ।
नयाँ आर्थिक वर्ष २०८२/८३ को साउन १ गतेबाट नयाँ बिमितले बिमा गरेको एक महिना भित्रमै सेवा लिन सक्ने व्यवस्था गरिएको हो ।
यसअघि बिमामा आबद्ध भएका नागरिकले सेवा लिन तीन महिना कुर्नुपर्ने अवस्था थियो । स्वास्थ्य बिमा बोर्डले बिमितहरुबाट आएको गुनासोको आधारमा तीन महिनाको समय चक्रलाई घटाएर एक महिनामा झारिएको बताएको छ ।
‘अहिले तीन महिना कुरेर मात्र नयाँ बिमित हुन पाउने कानुनी व्यवस्था हटेको छ,’ बोर्डले भनेको छ ‘यसले लाखौं बिमितहरु लाभान्वित हुने विश्वास गरेका छौं ।’
त्यस्तै नयाँ आर्थिक वर्षदेखि क्यान्सर, मुटुरोग, मिर्गौला रोग, टाउको र मेरुदण्डमा चोट (हेड इन्जुरी र स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमर भएका बिरामीले दुई लाखसम्मको उपचार सुविधा पाउने व्यवस्था पनि लागू भएको छ ।
बोर्डका अनुसार हालसम्म स्वास्थ्य बोर्डमा ६५ लाख बिमित रहेका छन् ।