बाँकेको कोहलपुर नगरपालिका–११, न्यूरोडमा ‘जनगर्जन नेटवर्क प्रालि’ नामक मिडिया सञ्चालन गरी बस्ने ३४ वर्षीय मनबहादुर सहकारीलाई नियन्त्रणमा लिएको छ ।
उसको मिडिया हाउस तथा डेराबाट १ हजार दरका ५१ हजार रुपैयाँ नक्कली नोट र १९ किलो ३ सय ग्राम अफिम बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए ।
प्रहरीले मिडिया हाउसबाट नक्कली नोट बनाउन प्रयोग गरिने कम्प्युटर, प्रिन्टर र क्यामेरा पनि बरामद गरेको छ ।
पक्राउ परेका मनबहादुर (पहेलो टीसर्टमा) माओवादी घटक संगठनसँग सम्बद्ध हुनसक्ने आंकलन गरिए पनि यसबारे थप अनुसन्धान भइरहेको एसपी शाहीले नयाँलिपिलाई जानकारी दिएका छन् ।
यस विषयमा बुझ्न खोज्दा जनगर्जन मिडियाका सम्पादक विष्णु विश्वकर्माको मोबाइल स्वीचअफ रहेको छ । उक्त मिडिया ०७७ सालमा प्रेस काउन्सिलमा दर्ता भएको हो ।

यही घटनामा जोडिएको वीरेन्द्रनगर–१०, शान्ति टोलबाट जाजरकोट कुशे गाउँपालिका–५ की २२ वर्षीया दिलमाया सिंह ठकुरीलाई नक्कली नोट चलाएको गोप्य सूचनाका आधारमा नक्कली ६ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा प्रहरीले कुशे गाउँपालिका–५, जाजरकोटकै ३३ वर्षीय रामबहादुर सिंह र दिलमाया सिंहको डेराबाट थप १२ लाख ३६ हजार रुपैयाँ बराबरका १ हजार दरका १२ सय ३६ थान नक्कली नोट बरामद गरेको छ ।
यसैगरी, अनुसन्धानकै क्रममा प्रहरीले कुशे गाउँपालिका–७, समकोट जाजरकोट घर भई भेरीगंगा नगरपालिका–१२, ठकुरी टोलमा बस्ने ३५ वर्षीय कृष्णबहादुर वली र ३८ वर्षीय प्रेमबहादुर विकको कोठामा खानतलासी गर्दा ११ किलो ३७२ ग्राम अफिम नियन्त्रणमा लिएको सुर्खेत प्रहरीले जनाएको छ ।
पक्राउ परेका सबैलाई लागूऔषध, अफिम, मुद्रा सम्बन्धी कसुर र सङ्गठित अपराध कसुर अन्तर्गत कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ।