‘शरणार्थी’ हैसियतमा रहेका लाखौंलाई अमेरिकाले देश निकाला गर्ने

एजेन्सीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले देशभर शरणार्थी दाबी गर्दै बसेका लाखौँ आप्रवासीहरूको निवेदन खारेज गर्दै उनीहरूलाई तत्काल देश निकाला गर्ने तयारी गरेको छ ।

यूएस सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेसले नयाँ अधिकारसहित यस्तो कदम चालेको सीएनएन सम्वाददाता प्रिस्सिला अल्भारेजले उल्लेख गरेकी छिन् ।

यो योजना लागू भएमा करिब दुई लाख पचास हजारभन्दा बढी आप्रवासी प्रभावित हुने अनुमान गरिएको छ । तीमध्ये धेरैजसो अवैधरुपमा अमेरिका प्रवेश गरेपछि शरणको लागि निवेदन दिने पर्दछन् ।

हाल अमेरिकामा १४ लाखभन्दा बढी शरणार्थी दाबीसम्बन्धी निवेदनहरु विचाराधीन छन् । नयाँ कदमअन्तर्गत धेरै पुराना निवेदन बिना सुनुवाइ खारेज गरिँदैछ, जसले गर्दा उनीहरू छिटो देश निकाला हुन सक्नेछन् ।

ट्रम्प र गृह सुरक्षा सचिव क्रिस्टी नोएमको निर्देशनमा यो संस्था अब कानुनी उल्लंघनमा संलग्न आप्रवासीहरूलाई तुरुन्त निष्कासन गर्न सक्ने अधिकारसहित प्रवर्तनको भूमिकामा परिणत भएको छ ।

यस नीतिबाट प्रभावित हुनेमा धेरैजसो आप्रवासीहरू अमेरिका भित्र भिसा सकिएपछि बसेका, श्रमिक भिसाबाट परिवर्तन भएका वा सीमाबाट अनौपचारिक रूपमा प्रवेश गरेका छन् । उनीहरूमध्ये थुप्रैले वर्षौंदेखि अमेरिकामा कर तिरेर, काम गरेर, समाजमा योगदान दिँदै आएका छन् ।

Exit mobile version