गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट : उद्घाटन खेलमा स्याङ्जाको जित

पोखरा । गण्डकी प्रदेशस्तरीय पुरुष टि–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा स्याङ्जाले सहज जित निकालेको छ ।

म्याग्दी विरुद्धको खेलमा जितका लागि ८९ रनको लक्ष्य पछ्याउँदै स्याङ्जाले १२.४ ओभरमा मात्र ४ विकेट गुमाएर ९३ रन बनाउँदै ६ विकेटले शानदार जित हासिल गरेको हो ।

जवाफी व्याटिङ गरेको स्याङ्जाका लागि ईश्वर क्षेत्रीले १८ बलमा ५ चौक र २ छक्काका साथ ३९ रन बनाउँदा करण पंगेनी ३१ बलमा नट आउट रहँदै २३ रनको योगदान दिए ।

त्यस्तै अश्विनी राना १८ बलको सामना गर्दै १ चौका, २ छक्काका साथ नट आउट रहँदै २० रन जोडे ।

म्याग्दीका लागि हरि सुवेदीले ४ ओभरमा १२ रन, २ विकेट लिए भने सागर कटुवालले ३.४ ओभरको स्पेलमा ३० रन खर्चिएर २ विकेट हात पारे ।

यस अघि म्याग्दीले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । म्याग्दी १८.५ ओभरमै सबै विकेट गुमाएर जम्मा ८८ रनमा समेटियो । म्याग्दीका लागि सर्वाधिक रन रोशन कार्कीले २७ रन (२० बलमा १ चौका र २ छक्का) बनाए भने दिनेश क्षेत्रीले २४ रन र सागर कटुवालले २० रन जोडे । अन्य ब्याटर भने खासै टिक्न सकेनन् । म्याग्दीका ६ खेलाडीले एकल अंकमा पनि रन बनाउन सकेनन् ।

स्याङ्जाका बलरहरू करण पंगेनी र सुजन गौतमले उत्कृष्ट प्रदर्शन गरे । दुवैले समान ३–३ विकेट लिए । तुलसीराम भण्डारी र अंकित न्यौपानेले १–१ विकेट हात पारे । सुजन गौतमले २.५ ओभरमा १३ रन दिँदै ३ विकेट लिएका थिए भने करण पंगेनीले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट झारे । उनी म्यान अफ दि म्याच बने ।

यस अघि प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, यूवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गरेका थिए ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा सुरू भएको प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन भएको छ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले नगद रु १ लाख, उपविजेताले रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, उत्कृष्ट खेलाडीलाई रु ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही रु २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले रु १ हजार नगद र ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक ऋषीराम गौतमले बताए ।

Exit mobile version