‘गण्डकी प्रदेशस्तरीय पुरुष टि-20 क्रिकेट प्रतियोगिता’ जेठ ३१ बाट

पोखरा । प्रादेशिक क्रिकेट संघ गण्डकीले आगामी जेठ ३१ गतेदेखि असार ६ गतेसम्म ‘तेस्रो गण्डकी प्रदेशस्तरीय पुरुष टि२० आई प्रतियोगिता–२०८२’ आयोजना गर्ने भएको छ ।

आयोजकले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको हो ।

क्रिकेटको बढ्दो लोकप्रियता र खेलकुदको भविष्यलाई मध्यनजर गर्दै आयोजना गरिँदै आएको प्रतियोगितामा यस वर्ष गण्डकी प्रदेशका आठ जिल्लाको सहभागिता रहनेछ ।

पोखरा रंगशालास्थित क्रिकेट खेल मैदानमा आयोजना हुने प्रतियोगिता दुई समूहमा विभाजनमा गरि सञ्चालन हुनेछ । समूह ‘ए’ मा स्याङजा, बाग्लुङ, तनहुँ र म्याग्दी रहँदा समूह ‘बी’ मा कास्की, नवलपुर, पर्वत र गोरखा रहेका छन् । प्रत्येक दिन दुई खेल हुने गरी तालिका तय गरिएको छ ।

संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार प्रतियोगिता युवा खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरेका छन् ।

प्रतियोगिताको विजेता टिमले नगद १ लाख, उपविजेताले ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै, उत्कृष्ट खेलाडीलाई ४ हजार, उत्कृष्ट ब्याटर, बलर र उदियमान खेलाडीलाई जनही २ हजारसहित ट्रफी प्रदान गरिनेछ । हरेक खेलको ‘प्लेयर अफ द म्याच’ ले १ हजार नगद र ट्रफी प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई सफल रूपमा सम्पन्न गर्न पूर्व क्यान केन्द्रीय सदस्य ऋषीराम गौतमलाई संयोजक तोकिएको छ ।

Exit mobile version