वैशाखमै ‘फोहोरको टापु’ नहटाइएपछि पौडेलले भने -धिक्कार छ महानगर …!

दिपक के श्रेष्ठ: वातावरण संरक्षण महाअभियान, कास्कीका अध्यक्ष रामबहादुर पौडेलले पोखरा महानगरपालिकाको कार्यशैलीप्रति रोष प्रकट गरेका छन् ।

फेवा किनारको गाइघाटस्थित फिर्केखोलामा अझै चेकड्याम नबनाएको र फोहोरको टापु नउठाएको भन्दै उनले ‘धिक्कार छ महानगर तिम्रो अकर्मण्यतालाई !’ लेखेका छन् ।

सामाजिक सञ्जालमा गरेको धिक्कारीपनबारे पौडेलले ‘महानगरलाई नागरिकस्तरबाट खबरदारी गरेको’ जवाफ दिए ।

नागरिक समाज कास्कीका संस्थापकसमेत रहेका पौडेलले महानगरले प्रतिबद्धता जनाए अनुरुप काम नगरेकोले आफु दुखी भएको बताउँदै त्यसैलाई ‘अकर्मण्यता’ भनेको उल्लेख गरे ।

‘फिर्केमा चेक ड्याम बनाउन नागरिक सुनुवाई र वातावरणीय मूल्यांकन गरिरहने आवश्यक थिएन, खुरुखुरु काम गरे भइहाल्थ्यो’ उनले भने ।

पोखराको मध्यभाग हुँदै बग्ने फिर्के खोलाले ल्याएको माटो, फोहोर, प्लास्टिक आदि जम्मा भएर पोखरा महानगरको वडा नम्बर ६ र १७ गाईघाटमा ‘टापु’ बनेको छ ।

फिर्केले बगाएर ल्याउने फोहोेरले ताल प्रदुषितमात्र हैन टापु नै बनेपछि महानगरपालिकाले बजेट विनियोजन गरी फेवालाई फराकिलो बनाउने योजना अघि सारेको छ ।

पोखरा महानगरले यहाँको माटो हटाउन यो वर्ष २५ लाख बजेट विनियोजन गरेको छ ।

यहाँको करिब ३० रोपनी क्षेत्रमा २० हजार घनमिटर जति माटो र फोहोर भएको अनुमान छ । महानगरका वातावरण महाशाखा प्रमुख विमलरञ्जन कार्कीका अनुसार यस वर्ष ४ हजार पाँच सय घनमिटर माटो निकालिने छ ।

उक्त फोहोरको टापु हटाउन वैशाख १० गतेभित्र टेण्डर खोलेर ३० गतेभित्र काम भइसक्नु पर्ने हो । त्यसो नहुँदा पौडेलले महानगरप्रति रोष पोखेका हुन् ।

उनले महानगर र व्यक्तिप्रति नभई प्रवृत्तिमाथि कटाक्ष गरेको जनाएका छन् ।

त्यसबेला महाशाखा प्रमुख कार्कीले यसै वर्ष गाईघाटमा अस्थायी चेक ड्यामका साथै ठाउँ–ठाउँमा चेक ड्याम निर्माण गरी तालसम्म फोहोर नपुग्ने गरी काम गर्ने योजना रहेको बताएका थिए ।

यस विषयमा त्यहाँको माटो र फोहोर हटाउन वातावरण संरक्षणका लागि महाअभियानले बारम्बार आवाज उठाउँदै आएको थियो ।

त्यस्तै, पोखरा महानगर फिर्के खोलाको खोला घरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउने योजनामा छ ।

नाप जाँच गरी खोला घर भत्काउन महानगरले पोहोर कात्तिकमा जारी गरेको सूचनापछि परेको रिट निवेदन उच्च अदालत पोखराले पुस १६ खारेज गरिदिएपछि महानगरलाई काम गर्ने बाटो खुलेको छ । तर काम भने सुरु भएको छैन ।

Exit mobile version