नयाँलिपिः पोखरामा आजदेखि ‘प्रचण्ड कप राष्ट्रिय महिला भलिबल कप–२०८२’ सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भलिबल नेपालको राष्ट्रिय खेल भएको बताउँदै अब खेलकुदमा लागेर पनि भविष्य उज्ज्वल हुने समय आएको बताए ।
अध्यक्ष प्रचण्डले नेपालमा हाल देखिएको खेलकुदमध्ये भलिबलले हासिल गरेको सफलतामा माओवादीको हात भएको बताए ।
‘माओवादी सरकारमा आएपछि भलिबललाई व्यावसायिकतातर्फ लैजाने योजना सुरु गरिएको हो’ प्रचण्डले भने ‘सोही कारण आज भलिबले उचाई लिएको छ, सफलता हात पार्न थालेको छ ।’
खेलकुदमा युवाहरुको आकर्षण बढेकोमा खुशी व्यक्त गर्दै उनले देशलाई अन्तर्राष्ट्रिस्तरमा पदक जिताउन अझ बढी मेहेनत गर्न आवश्यक भएको औंल्याए ।
‘प्रचण्ड कप भलिबलमा स्वागत छ, सम्पूण टिमलाई शुभकामना’ उनले भने ।
प्रतियोगिता पोखरा रंगशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा जारी छ भने प्रतियोगितामा राष्ट्रिय स्तरका ६ प्रमुख महिला टिमको सहभागिता रहेको छ ।
प्रतियोगिता राउन्ड रोबिन लिगका आधारमा खेलाइनेछ । प्रतियोगिताको उपाधि विजेता टिमले ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २० हजार प्रदान गरिनेछ ।
उद्घाटन बाहेकका लिग चरणका खेल हेर्न २ सय र फाइनल खेल हेर्न ४ सय रुपैयाँ टिकटको व्यवस्था गरिएको छ ।