मध्यरातको खुशी ! नेदरल्याण्ड्समाथि नेपालको सहज जित

नयाँलिपिः बुधबार मध्यरात नेपालले बलियो प्रतिद्वन्द्वी नेदरल्याण्ड्विरुद्ध जारी आइसिसी विश्वकप लिग-२ अन्तर्गत ५ विकेटको सहज जित हात पारेको छ ।

अघिल्लो खेलमा स्कटल्याण्ड विरुद्ध जित निकालेको नेपालले बुधबार मध्यरातमा अर्काे जित हात पार्दै नेपालीलाई स्कटल्याण्डको डण्डीबाट खुशी बाँडेका छन् ।

नेदरल्यान्ड्सले दिएको २२६ रनको लक्ष्य नेपालले ४७.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालको जितमा मध्यक्रमका ब्याटर आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे। धैर्यपूर्वक ब्याटिङ गरेका आरिफले अर्धशतक प्रहार गर्ने क्रममा ७८ रन बनाए। उनले ९९ बल खेलेर ७ चौका र २ छक्का प्रहार गर्दा नेपाल जिततर्फ अघि बढ्यो।

आरिफले दीपेन्द्रसिंह ऐरीसँग पाँचौ विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए।

दीपेन्द्रले नटआउट ३८ रन बनाए। उनले ५१ बलम ३ चौका प्रहार गरे। ४८औं ओभरको पहिलो बलमा विजयी छक्का प्रहार गरेका गुल्सन झाले ४ बलमा नटआउट ११ रन बनाए।

Exit mobile version