शारीरिक तथा सामाजिक विकासमा खेलकुद महत्वपूर्णः प्रदेश प्रमुख भट्ट

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले युवाको शारीरिक तथा सामाजिक विकासमा खेलकुद महत्वपूर्ण रहेको बताए ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ मा आयोजित तेस्रो रनिङ शिल्ड प्रतियोगिता उद्दघाटन गर्दै प्रदेश प्रमुख भट्टले यस्ता प्रतियोगिताले दूरदराज गाउँहरूबाट खेलाडीहरू उत्पादन गर्न सहयोग पुग्ने बताए ।

‘खेलकुदमा युवा सहभागिताले शारीरिकसँगै सामाजिक रूपमा सबल बनाउँदछ । सान्दर्भिक गतिविधिहरूमा संलग्न हुने सम्भावना बढ्छ ।’ उनले उनले भने –‘युवाले खेललाई जीवनको माध्यम बनाउँछन्, यसले आत्मसम्मान बढाउँछ । सामाजिक सीपहरू विकास गर्न सक्छ र उपयुक्त नेतृत्व क्षमताको पनि विकास गराउँछ ।’

खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पु¥याउने भएकाले यसको विकास र सम्वद्र्धन जरुरी रहेको प्रदेश प्रमुख भट्टले उल्लेख गरे । ‘खेलकुद क्षेत्रको विकासका लागि संघ, प्रदेश र स्थानीय गरी तीन तहबाट यसमा यथेष्ठ प्रयत्नहरु होउन् भनेर म सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन चाहन्छु ।’ उनले भने – ‘खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । खेलको विकासबाट राष्ट्रको सर्वाङ्गीणको ढोका खोल्न सकिन्छ ।’

खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहनुपर्ने उनको भनाई छ ।

माछापुच्छ्रे गाउँपालिका ६ का अध्यक्ष टेकनाथ गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहमा माछापुच्छ्रे गाउँपालिकाका प्रशासकीय अधिकृत केशव सुवेदीलगायतले बोलेका थियो । कार्यक्रमको सञ्चालन सन्देश अधिकारीले गरेको थियो ।  

Exit mobile version