एउटा बसले कति फरक पार्छ सामुदायिक विद्यालयमा ? उदाहरण बन्यो मादी

दिपक के श्रेष्ठः पोखरा नजिकैको गाउँपालिका मादीबाट पढ्न झरेका विद्यार्थीहरु फेरी उतै फर्किन थालेका छन् । पालिकामा रहेका सामुदायिक विद्यालय टाढा हुँदा अभिभावकहरुले आफ्ना सन्तानलाई पोखरा झार्दै आएका थिए ।

तर यस शैक्षिकसत्रदेखि केही विद्यार्थी गाउँतिरै फर्कन थालेका छन् । यसरी पढ्न गाउँ फर्किनुको पछाडी विद्यालयले उपलब्ध गराएको बस सेवा हो ।

मादी गाउँपालिकाअन्तरगत वडा ४ मा रहेको श्री ध्रुव मावि र ७ मा रहेको धनुवास कालिका माविले निशूल्क स्कुल बस संचालन गरेसंगै पोखरा झरेका विद्यार्थी गाउँ फर्किन थालेको पालिका अध्यक्ष अध्यक्ष देविजंग गुरुङ् बताउँछन् ।

यस सत्रमा धनुवासमा ३० र ध्रुवमा ३१ विद्यार्थी थपिएको प्रधानाध्यापकहरुको भनाई छ । बस सेवाले वडा ४ र ७ लाई मात्र सहज नभई अन्य वडाका विद्यार्थीलाई पनि सुविधा थपिएको वडा २ का अध्यक्ष एवं पालिका प्रवक्ता भोजबहादुर गुरुङ बताउँछन् ।

फर्किएका विद्यार्थीहरु पोखरामा भद्रकाली र कुँडहर क्षेत्रका विद्यालयहरुमा अध्ययनरत थिए ।

‘मकै खोला, चिप्ली, तारकाङ्, कावरे हुँदै पालिकाभित्रका अन्य वडाबाट पनि विद्यार्थीले सेवा पाएका छन्’ अध्यक्ष गुरुङ् भन्छन् ‘सकेसम्म अन्य विद्यालय मर्ज गरेर अघि बढ्ने योजना छ ।’

विद्यालय मर्ज गर्नसके अन्यत्रका विद्यार्थीले पनि लाभ लिने र बस सञ्चालन खर्च कम हुने गाउँपालिकाको विश्वास छ । मर्ज गर्न आगामी नीति तथा कार्यक्रममा उक्त योजना समेटेर अघि बढ्ने पालिकाको योजना छ ।

विद्यालयले निशूल्क बस सेवा उपलब्ध गरेपनि सञ्चालनमा भने चुनौती छ । नियमअनुसार एउटा सामुदायिक विद्यालयले मौज्दात रकमबाट मासिक अधिकतम ३० हजार रुपैयाँमात्र खर्च गर्न पाउनेछ ।

उक्त रकमबाट चालक, मर्मत र इन्धनको जोहो गर्न भने हम्मे पर्ने भएकाले विद्यालय व्यवस्थापन समितिलाई यसबारे सोच्न बाध्य बनाएको छ ।

हाल सञ्चालनमा आएका बसहरु पालिकाको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत चन्दाबाट संकलित रकमबाट खरिद गरिएको पालिका प्रवक्ता गुरुङले बताए ।

बस खरिदमा भन्सार छूटपछि करिब ३६ लाख रुपैयाँ प्रतिबस खरिद गरिएको हो ।

पालिकाले ठूलै रकम अनुदानस्वरुप दिने भएपछि पूर्वलाहुरे र समाजसेवीहरु जुटेर अर्थ संकलन समिति नै गठन गरी २५ प्रतिशत रकम चन्दास्वरुप जुटाएपछि बस खरिद गर्न सम्भव भएको हो ।

‘बस सञ्चालनबाट पोखरा गएका विद्यार्थी फर्किनुसँगै आगामी दिनमा पनि पालिकामै अध्ययन गर्ने वातावरण निकै सुखद भएको गुरुङको धारणा छ ।

अझ बस चढ्न पाउने लालसाले विद्यार्थी भाइबहिनीहरु विद्यालयमा निरन्तर जान थालेका उनको रोचक अनुभव छ ।

‘यतै पढ्ने, पढाउने वातावरण त बन्यो, अब युवालाई पनि यतै उद्यममा जोड्ने तयारीमा गृहकार्य गरिरहेका छौ, केही व्यवसायलक्षित कार्यक्रम ल्याउँदैछौं’ उनले भनेका छन् ।

Exit mobile version