वडाध्यक्षले एकैदिन २ जनालाई कुटेपछि, महानगरमा काम रोकियो

नयाँलिपिः पोखरा वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीले मंगलबार पन्थीगल्लीस्थित एक व्यापारीमाथि कुटपिट भएको भन्दै व्यवसायीहरु जिल्ला प्रहरीका कार्यालय र वडा कार्यालयमा नाराबाजी गरे ।

उनीहरुले अध्यक्ष पराजुलीमाथि कारवाहीको माग गर्दै उजुरी दर्ता गर्ने प्रयास असफल भयो । तर सोही दिन वडाध्यक्ष पराजुलीले पोखरा महानगरपालिकाको कार्यालय पुगेर प्रशासन महाशाखाका कर्मचारीमाथि हातपात गरिसकेका थिए ।

वडाअध्यक्ष पराजुलीले वैशाख २३ मंगलबार बिहान करिब पौने बजेतिर प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा अधिकृत ईश्वरीप्रसाद पोखरेलमाथि हातपात गरेका थिए । उक्त घटनालगत्तै कर्मचारी संगठनहरुले विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

उनीहरुले भनेका छन् , ‘निन्दनीय घटनाप्रति हामी पोखरा महानगरपालिकमा क्रियाशिल कर्मचारी संगठनहरुको तर्फबाट घोर भत्र्सना गर्दछौं । उक्त घटनामा संलग्न व्यक्ति उपर २४ घन्टा भित्र कानुन बमोजिम कारवाही गर्न ध्यानाकर्षण गर्दछौं, अन्यथा मिति २०८२ वैशाख २४ गते देखि महानगरपालिका कार्यालय र वडा कार्यालयमा समेत कामकाज ठप्प गरी अन्य आन्दोलनका कार्यक्रमहरु अगाडि बढाइने व्यहोरा समेत जानकारी गराउँदछौं ।’

कर्मचारीहरुकै आन्दोलनका कारण बुधबार पोखराका वडाहरुमा समेत काम प्रभावित भएको छ ।

स्थानीय तह कर्मचारी युनियन, स्थानीय तह कर्मचारी संघ, नेपाल राष्ट्रिय कर्मचारी संगठन र एकीकृत सरकारी कर्मचारी संगठन नेपालले हिजै संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए । उनीहरुकै अग्रसरतामा आन्दोलन भएको हो ।

Exit mobile version