नयाँलिपिः पोखरा महानगरपालिका वडा नम्बर ७ बुलौदीस्थित पुष्पलाल स्मृति पार्कको भित्तामा कवि शिरोमणि लेखनाथ पौड्यालको चित्र कुँदिएको छ ।
पोखरा महानगरपालिका र नेपाल कर्मसियल आर्टिष्ट संघको सहकार्यमा पार्कको पूर्वी भित्तामा पौड्यालसँगै पोखराका प्रमुख पर्यटकीय स्थलहरूको प्रतिबिम्ब कुँदेर सौन्दर्यकरण गरिएको हो ।
महानगर प्रमुख धनराज आचार्यले श्रमिक दिवसको अवसरमा बिहीबार ती चित्रहरु अनावरण गरे । पर्यटन राजधानी पोखराको सौन्दर्यीकरणसहित पर्यटन प्रवद्र्धनका लागि प्रयोगमा नरहेका खुला र फराकिला स्थानहरूमा यस प्रकारका आर्टहरू गरिने प्रमुख आचार्यले बताए ।
पोखराबाट देखिने हिमालय शृंखला, ताल, प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित मठमन्दिरहरू लगायत प्रतिबिम्बहरू बनाइएको छ ।

चित्र कोरेका कलाकाहरु रमेशकुमार राई, शिवबहादुर अधिकारी, मनोजकुमार विक, बलबहादुर राई, शिव थापा, लाल कार्की, मोहमुद खान, रामकुमार बतास, राज लामा, शिव सेर्पाली, युवराज बस्ताकोटी, राजु नेपाली र तेजबहादुर शाहीलाई कार्यक्रममा सम्मान गरिएको थियो ।
भित्ते चित्र कोर्ने सामग्री किन्ने खर्च स्वरुप कलाकारहरुलाई ५ लाख रुपैयाँ उपलब्ध गराइएको र अरु आवश्यक योगदान कलाकारहरुले गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिम्सिनाले जानकारी दिए ।
पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले आवश्यकता अनुसार यस्ता चित्रहरु अरु ठाउँमा पनि कोरिने सुनाए । पुष्पलाल पार्क व्यवस्थापन समितिका अध्यक्ष लीलाभक्त बरालले पर्यटकहरुको सम्मान गरिनुपर्ने खाँचो औंल्याए ।