नयाँलिपिः नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेश समिति अध्यक्ष रोमहर्षन पौडेलले आज काठमाण्डौंमा जारी आन्दोलनमा प्रहरीको दमनबाट २ दर्जन शिक्षक घाइते भएको बताएका छन् ।
माइतीघरदेखि नयाँ बानेश्वरको निषेधित क्षेत्र नजिकसम्म प्रदर्शन र कोणसभा गर्दै आएका शिक्षकहरुले आइतबार प्रहरी घेरा तोड्ने प्रयास गरेपछि झडप हुँदा शिक्षक साथीहरु घाइते भएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।
आन्दोलनकारी शिक्षकले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ लाग्ने योजना अनुरुप अघि बढ्दा झडप भएको उनले बताए ।
घाइतेको सिभिल अस्पताल र ट्रमा सेन्टरमा उपचार भइरहेको र गण्डकी–कास्कीका शिक्षकहरु सकुशल रहेको उनले बताए ।
‘हामी अझै पनि साथीहरुको अवस्थाबारे खोजबीन गरिरहेका छौं, तर हालसम्म कास्कीका सबै साथी सुरक्षित रहेको जानकारी छ’ अध्यक्ष पौडेलले भनेका छन् ।
यसैबीच, गण्डकीका कोही शिक्षक घाइते भए वा भएको जानकारी भए ९८५६०३६०४२ मा सम्पर्क गर्न वा गराउन उनले अनुरोधसमेत गरेका छन् ।
सरकारले यथाशीघ्र माग पुरा गर्नुपर्ने भन्दै पौडेलले आफुहरु पनि विद्यालय फर्केर अध्यापन गर्न आतुर रहेको बताए ।
हालसम्म भएका औपचारिक र अनौपचारिक वार्ताले निकास पाउन नसकेको बताउँदै पौडेलले आज शिक्षक महासंघले बैठकमार्फत आगामी रणनीति तयार पार्ने बताएका छन् ।
निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो। जवाफमा शिक्षकहरूले ढुंगा प्रहार गरेका थिए ।
निषेधित क्षेत्रमा राखिएको ब्यारिकेट शिक्षकहरूले हटाउन खोजेपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो ।