दिपक के श्रेष्ठः गण्डकी प्रदेशमा सरकार मातहतका ११ अस्पताल र ११ आयुर्वेद कार्यालय छन् ।
लामो समयदेखि दरबन्दी, पूर्वाधार र उपकरण कम हुँदा समस्या झेल्दै आएका यी अस्पताल सरकारले स्तरोन्नति गर्ने भएको छ ।
स्तरोन्नतीसँगै प्रदेश सरकारले कार्यरत चिकित्सक र कर्मचारीको संख्या समेत बढाउने तयारी गरेको छ । अहिले तीय सय ९५ शय्या रहेकोमा स्तरोन्नतिपछि सात सय शय्या पुग्नेछ ।
यसैपालि कास्कीको गण्डकी आयुर्वेद अस्पताल र बागलुङको धौलागिरि आयुर्वेद अस्पतालले अन्तरङ्ग सेवा सुरु गरेका छन् । ती अस्पताललाई पनि २५ शय्यामा स्तरोन्नति गरिएको छ ।
अहिले पाँच सय ६४ स्थायी दरबन्दी भएकोमा एक सय ८७ रिक्त छन् । स्तरोन्नतिपछि दरबन्दी एक हजार दुई सय ४४ पुग्नेछ । अहिले यी स्वास्थ्य संस्थामा करारसहित एक हजार एक सय ३३ कर्मचारी छन् ।
अस्पताल स्तरोन्नतिका लागि मनाङ, मुस्ताङ, पर्वत, धौलागिरी र मध्यविन्दु प्रावेदशि अस्पतालको भौतिक पूर्वाधार यही वर्ष सकिने क्रममा छन् ।
प्रदेशका अस्पतालमा प्रयोगशाला र आवश्यक उपकरणको कमी नभएको तर चिकित्सकको दरबन्दी भने पुरा गर्न नसकेको प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सुरज गुरौ बताउँछन् ।
गुरौका अनुसार प्रादेशिक प्रयोगशालालाई भने स्तरोन्नती गर्न तयारी भइरहेको र आधुनिक स्तरीय बनाउने काम सम्पन्न हुन लागेको छ ।
‘प्रदेशका अस्पतालमा भौतिक साधनको खासै समस्या छैन’ प्रवक्ता गुरौ भन्छन् ‘आवश्यक जनशक्तिमा सबैभन्दा बढी माग कन्सल्ट्यान्ट र विशेषज्ञ चिकित्सकको रहेको छ ।’
मन्त्रालयले अहिले स्थायी जनशक्तिका लागि २३ करोड ३६ लाख र करार सेवाका कर्मचारीका लागि १२ करोड ७० लाख गरी ३६ करोड ४० लाख खर्च गरिरहेको छ ।
मन्त्रालयले हालै गरेको अध्ययन अनुसार स्तरोन्नतिपछि जनशक्ति थप हुँदा ११ करोड १२ लाख दायित्व बढ्ने देखाएको छ ।
प्रदेशमा अस्पतालको खर्च अहिले ५९ करोड ७५ लाख रहेकोमा आम्दानी ६६ करोड ४७ लाख छ ।