पोखरा महानगरकै कर्मचारीसँग घुस माग्ने गिरीविरुद्ध विशेष अदालतमा मुद्दा

नयाँलिपिः गत चैत ७ गते घुस माग्दामाग्दै पक्राउ परेका पोखरा महानगरपालिका अन्तर्गत उजुरी फछर्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

गिरीले महानगरकै एक अर्का कर्मचारीलाई ‘अख्तियारमा उजुरी परेको रहेछ, म मिलाईदिन्छु’ भनि २५ हजार रुपैयाँ घुसस्वरुप मागेका थिए । सोही घुस लिने बेला पक्राउ परेका गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार गिरीले कार्यालयमा परेका उजुरीहरूसँग सम्बन्धित प्रमाण नष्ट गरी उजुरी फरफारक गर्ने कार्यमा सहयोग पुर्‍याउने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए।

सेवाग्राहीसँग प्रत्यक्ष रुपमा २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो।

अनुसन्धानबाट पुष्टि भएअनुसार गिरीले अख्तियारमा उजुरी परेका सम्बन्धमा प्राप्त पत्रलाई असर पुर्‍याउने उद्देश्यले सेवाग्राहीसँग सो रकम माग गरी लिएको पाइएको छ।

आयोगले गिरीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुरमा २५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३(१)(क) अनुसार कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी सहित विशेष अदालतमा आरोपपत्र दायर गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए ।

Exit mobile version