नयाँलिपिः गण्डकी प्रदेश सरकारले ४ वर्ष अघि नै परिकल्पना गरेको आयोजना बैंक बल्ल स्थापना भएको छ ।
प्रदेशको समग्र विकासमा विज्ञहरुको सल्लाह, सुझाव र योजनालाई समेटी कार्ययोजना तयार पार्ने हेतुले ४ वर्ष अघिदेखि आयोजना बैंक स्थापना गर्ने प्रयास रहेको थियो ।
अन्ततः सोही परिकल्पनालाई पुरा गर्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आयोजना बैंकको शुभाराम्भ गरेका छन् ।
प्रदेश र स्थानीय तहबाट डिपिआर सहित प्रक्रिया पूरा भएर आएका योजना बैंकमा राखिने छ । प्राथमिकताका आधारमा बजेट विनियोजना गरिनेछ ।
प्रदेशको बृहत्तर हितमा योजना छनौट र कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आयोजना बैंकको सुरुवात भएको मुख्यमन्त्री पाण्डेले जनाएका छन् ।
सोमबार आयोगले गरेको ‘प्रदेश र स्थानीय तहबीच योजना साझेदारी’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पाण्डेले स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आगामी वर्ष सञ्चालन गर्न सकिने कार्यक्रमहरुको सम्भावनाकाबारेमा जानकारी लिएका छन् ।
कृषि र पर्यटन केन्द्रित साझेदारीका कार्यक्रम गरी ग्रामीण अर्थतन्त्र उकास्न, रोजगारी सिर्जना गर्न र युवा पलायन रोक्ने योजनामा केन्द्रित हुन उनले स्थानीय तहहरुलाई अनुरोध गरेका छन् ।
लागत साझेदारीमा हुने कार्यक्रम प्रतिफल देखिने खालको बनाउन अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले आगामी वर्ष नमुना कार्यक्रमको रुपमा सञ्चालन गरिने बताए ।
आयोजना बैंकमा प्रदेश सरकार मातहतका मन्त्रालय र मन्त्रालय मातहतका कार्यालयले योजना प्रविष्ट गर्ने र प्राथमिकताका आधारमा प्रदेश सरकारले कार्यान्वयन गर्ने योजना आयोगको उपाध्यक्ष डा. कृष्णचन्द देवकोटाले बताए ।
गाउँपालिका महासंघ नेपालकी अध्यक्ष लक्ष्मी पाण्डेले बैठकहरुमा समन्वयका कुरा हुने भए पनि व्यवहारमा त्यसो नभएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गराइन् ।
संघ र प्रदेश तहले काम गर्ने थलो पनि स्थानीय तह नै भएकाले समन्वय गर्न जरुरी रहेको र यसले संघीयतालाई मजबुत पार्ने उनको भनाइ थियो ।
प्रदेशले संघतिर फर्केर दोष लगाइरहँदा प्रदेशप्रति पालिकाहरुले गुनासो पनि उस्तै रहेको पाण्डेको धारणा छ ।