नयाँलिपिः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दलसँग भएको सम्झौता तोडेको बताउँदै अझै पनि संविधान विरोधी गतिविधि गरिरहे कारवाही गर्ने बताएका छन् ।
आइतबार लमजुङको क्व्होँलासोंथर गाउँपालिका–५ सिङ्दीमा आयोजित गाउँपालिका स्तरीय दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले संविधानको पालना गर्ने र सार्वभौम नागरिकको अधिकारमाथि कुनै दखल नगर्ने राजनीतिक दलसँग भएको सम्झौताको पूर्वराजाले उल्लङ्घन गरेको बताएका छन् ।
“पूर्व बडामहारानीलाई नारायणहिटीमा बस्न दिने, पूर्वराजालाई नागार्जुन दरबारमा बस्न दिने, पूर्व राष्ट्रपति सरह सम्मान दिने, उहाँले संविधानको परिपालना गर्ने, सार्वभौम नागरिकको अधिकारलाई कुनै दखल नगर्ने भन्ने दलसँग सम्झौता भएको थियो”, सञ्चारमन्त्री गुरुङले भने “फागुन ७ गतेदेखि पूर्वराजाले त्यो सहमतिको उल्लङ्घन गर्नुभयो, लल्कार्नुभयो, त्यो हाम्रो लागि स्वीकार्य छैन्।”
केहीदिन यता पूर्वराजावादीको नाममा व्यवस्था विरोधी, संविधान विरोधी तत्त्वले टाउको उठाइरहेको उहाँले बताए ।
“यी सबै गतिविधि एउटा लोकतान्त्रिक सरकारको हैसियतले हामीले गर्न दिइरहेका थियौं”, उनले भने “तर, राजावादीको नाउँमा हत्याको बाटो, हिंसाको बाटो, अराजकता र लुटपाटको बाटो रोजियो। यी सबै गतिविधिलाई सरकार टुलुटुलु हेरेर बस्न सक्दैन। चुप लागेर हातमा दही जमाएर बस्न सक्दैन। कारबाही अगाडि बढाउँछ, त्यसको सुरुवात भइसकेको छ।”
नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गुरुङले यस्ता गतिविधिलाई साथ नदिन सबै नागरिकलाई आग्रहसमेत गरे ।
्