नयाँलिपिः पोखराको शैक्षिक आकाशमा छुट्टै पहिचान बनाएको प्रतिभा एजुकेशन फाउण्डेशनले अब एभरग्रीन एकेडेमी सञ्चालन गर्ने भएको छ ।
विज्ञान, प्रविधि र इन्जिनियरिङ् विषयलाई लक्षित गरिएको एकेडेमीले यसै शैक्षिक सत्रदेखि अध्यापन सुरु गर्ने जनाएको छ ।
प्रतिभा माविको शैक्षिक सफलतासँगै विद्यार्थीको बौधिक विकास र व्यक्तित्व निर्माणलाई सशक्त बनाउन प्रतिभा एजुकेसन मातहत नै रहनेगरी एभरग्रीन एकेडेमी सञ्चालनमा ल्याउन लागिएको प्रतिभा एजुकेसन फाउण्डेसनका अध्यक्ष नारायणप्रसाद पौडेलले बताए ।
एकेडेमीको मुख्य उद्देश्य भनेको प्रत्येक विद्यार्थीको वैयक्तिक भिन्नतालाई सवलीकरण गराउनु हो,उनले भने,‘विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित र उन्नत प्रणालीमा आधारित शिक्षा प्रदान गर्नू हो ।’
एकेडेमीले समावेशी र विद्यार्थी केन्द्रित शिक्षा प्रणालीलाई केन्द्रमा राखेर शैक्षिक गतिविधि सञ्चालन गर्ने प्रतिभा एजुकेसन फाउण्डेसनका निर्देशक किरण सापकोटाले बताए ।
उनले भने,‘हामी केवल पाठ्यक्रम र परीक्षामा आधारित मात्र शिक्षा दिन्नौ, बरु विद्यार्थीलाई जीवनका विभिन्न पक्षमा सक्षम बनाउन चाहन्छौ ।’ उनका अनुसार एकेडेमीले विद्यार्थीको व्यक्तिगत आवश्यकतालाई ध्यानमा राखेर शिक्षा प्रदान गर्छ ।
एकेडेमीमा नर्ससहितको हेल्थ डेस्क र लिफ्टकोसमेत व्यवस्था गरिएको छ ।