पिएन क्याम्पसमा अखिलको ‘लिगेसी’ कायमै, पोखरेलको प्यानलै विजयी

नयाँलिपिः पोखराको पृथ्वीनारायण क्याम्पसमा १६ वर्षपछि भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा अनेरास्ववियुले आफ्नो लिगेसीलाई कायमै राखेको छ ।

यसपटक भएको निर्वाचनका समयावधि अघिल्लोभन्दा १६ वर्षपछि भएकाले कसले जित्ला भन्नेमा विभिन्न अड्कलबाजी भएका थिए ।

नेकपा एमाले निकट अखिलको उम्मेदवार चयनमा समेत गुटको प्रभाव देखिएकाले अन्य विद्यार्थी संगठन पनि जित्नेमा आशावादी थिए ।

अखिलसँग सँधै हार्दै आएको नेविसंघ पनि उत्साही भएर निर्वाचन प्रचारप्रसारमा जुटेको थियो । यद्यपि, मंगलबार बिहानै आएको नतीजाले अनेरास्ववियुलाई पुनः जित दिलाएको छ ।

नतीजाअनुसार स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर विजयी भए।

उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५०३ मत ल्याए। स्वतन्त्र उम्मेदवार विप्लवी भट्टराईले ४६९ मत प्राप्त गरिन्।

अखिल क्रान्तिकारीका नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, अखिल छैठौंका मिलन सुनारले २८ मत ल्याए।

स्ववियु सचिवमा अनेरास्ववियुका विराट दुवाडी १४१३ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६२८ मत ल्याए।

अखिल क्रान्तिकारीका सचिवका उम्मेदवार मिराज थापा मगरले २९३ मत ल्याए।

कोषाध्यक्षमा एमालेनिकट अनेरास्ववियुका सन्दिका गुरूङ १३०४ मत ल्याएर निर्वाचित भइन्। प्रतिस्पर्धी नेविसंघकी अमिषा यादवले ६४७ मत ल्याइन्।

आइतबार भएको मतदानमा २९८७ विद्यार्थीले मतदान गरेका थिए। देशकै ठूलो क्याम्पस पिएन क्याम्पसमा ९२७० जना विद्यार्थी अध्ययनरत छन्।

स्ववियुमा अध्यक्ष, सचिव र कोषाध्यक्षसहित ११ जना प्रत्यक्ष निर्वाचित हुन्छन्। उपाध्यक्ष, उपसचिव र ८ जना सदस्य समानुपातिक निर्वाचनबाट छनौट हुन्छ। २१ सदस्यीय स्ववियु समितिको अवधी २ वर्ष हुनेछ।

Exit mobile version