नयाँलिपिः घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी खोटाङकी एक बालिकाको मृत्यु भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क बसेरीका अशोक पोखरेल र कुमारी ढुङ्गानाकी २१ महिनाकी छोरी अनुसोया पोखरेलको बार्दलीबाट लडेर ज्यान गएको हो ।
जिल्ला सदरमुकाम दिक्तेल रत्नपार्क चिल्ड्रेनपार्कस्थित एक घरमा कोठा भाडामा बस्दै आउनुभएका पोखरेल दम्पतीकी छोरी शुक्रबार साँझ बार्दलीबाट लडेको नातेदार डिएसपी पोखरेलले जानकारी दिनुभयो ।
बार्दलीबाट ढलान गरेको रोडमा लडेकी बालिका अनुसोयाको बाहिरी चोट भने देखिएको थिएन । उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल लगिएको थियो । अस्पतालले काठमाडौंस्थित ट्रमा सेन्टर अस्पतालमा रेफर गरेपछि सुमो गाडीमा काठमाडौं उपचारका लागि पठाइएको पोखरेलले बताउनुभयो ।
उपचारको लागि काठमाडौं लगिएको बालिकाको जयराम पुगेपछि राती करिब ११ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।