अमरसिंह चौरमा ४ दिने अटो शो, विद्युतीय गाडीको बर्चश्व रहने

नयाँलिपिः पोखरामा पहिलोपटक अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा)को आयोजनामा सवारीसाधनको बृहत् प्रदर्शनी ‘वाडा अटो शो’को आयोजना हुने भएको छ ।

पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सव ४ दिनसम्म चल्नेछ । आयोजकले आज दिएको जानकारी अनुसार यही चैतको १४ देखि १७ गतेसम्म हुने अटो शोमा अन्य विविध कार्यक्रमसमेत राखिएको छ ।

आयोजक वाडाका उपाध्यक्ष निरन केसीले देशभरमा रहेका अटोमोबाइलका प्रमुख ब्राण्डलाई यस प्रदर्शनीले एकै स्थानमा हेर्ने अवसर उपलब्ध गराउनेछ ।

‘यहाँ आयोजना गरिएको शोमाविद्युतीय गाडीहरू बाहुल्यता रहनेछ’ उपाध्यक्ष केसीले भने ‘विद्युतीय गाडीमा हुने नविनतम प्रविधिलाई नजिकबाट बुझ्न तथा एउटै थलोमा धेरै ब्राण्डको अनुभव लिनका लागि अटो शो महत्वपूर्ण छ ।

अटो शो मार्फत गण्डकीका डिलरहरुले सवारीसाधनको बजारीकरण गर्ने र उपभोक्तालाई छनौट एवं इभीबारे जानकारी हुने प्लेटफर्म उपलब्ध गराउने उद्देश्य रहेको केसीले जनाएका छन् ।

अटो शोमा विद्युतीय चारपाँग्रेतर्फ बिवाइडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राख्ने भएका छन् ।

आइस (पेट्रोल, डिजेल)तर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीहरुको पनि सहभागिता रहनेछ । त्यस्तै, हुन्डाई, टाटा, कियाले इभीसँगै आइस गाडीलाई पनि सोकेस गर्नेछ ।

दुईपाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ । कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर, डङफेङ जस्ता ब्राण्डहरूले आफ्नो लाइट कमर्शियल गाडीहरूको प्रदर्शन गर्नेछन् ।

ग्राहककालागि शो स्थलमै एक्स्चेन्ज र फाइनान्सिङको सुविधा रहने छ । साथै, अटो कम्पोनेन्ट्स, इन्स्योरेन्स र ग्यारेज उपकरण जस्ता अतिरिक्त कम्पनीहरूको स्टलसमेत रहने जानकारी दिइएको छ ।

पोखरा वातावरणमैत्री सहरसमेत भएको बताउँदै उपाध्यक्ष केसीले नेपाल विश्वमै इभी गाडी प्रयोगकर्ताको सूचीमा निकै माथि आउन थालेको बताए ।

शोको प्रचारप्रसार हेतु आयोजकले शुक्रबार पोखरा रंगशालादेखि आयोजनास्थल अमरसिंह चौरसम्म मोटर ¥यालीकोसमेत आयोजना गरेको छ ।

अटो शोमा बन्दीपुर केबलकारले डोर प्राइजअन्तरगत ३ सय केबलकारको टिकट प्रायोजन गरेको छ ।

Exit mobile version