नयाँलिपिः पिएन क्याम्पस, पोखरामा आसन्न स्वतन्त्र विद्यार्थी युनियनको आज हुने चुनाव अपरान्ह ३ बजे स्थगित गरिएको सूचना दिइएको छ ।
निर्धारित समयमा मतदान सुरु गर्न लागेकाबेला मतपत्रमा त्रूटी देखिएपछि चुनाव स्थगित भएको हो । मतपत्रमा अखिल छैठौंलाई मतदान गर्ने कोष्ठक छपाई नभएको पाइएपछि चुनाव रोकिएको थियो ।
त्यसपछि पुनः छपाई गरेर ल्याउँदा ६ घण्टा बितिसकेपछि आज मतदान सम्भव नहुने भएकाले चुनाव सारिएको हो ।
छपाई गरिएको नमुना कपिमा सबै संगठनको मतपत्र सही देखिएपनि पछि छपाई गरेर ल्याइएको मतपत्रमा कोष्ठक नभएको पाइएको हो ।
मतदान सुरु नभएपछि केही समय अखिल छैठौं र नेपाल विद्यार्थी संघले मूलगेट अगाडी नाराबाजी गरेपनि हाल सबै सहमतिमा जुटेका छन् ।
अखिल छैठौंबाट सभापतिमा मिलन सुनारकोमात्र उम्मेदवारी परेको छ ।
निर्वाचन समितिले दिएको जानकारी अनुसार भोली बुधबार बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुनेछ ।